उद्धारमा आएका सबै विदेशी सैनिक फिर्ता

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं ,२२ जेठ । गतबैशाख १२ गतेको भूकम्पपछि नेपाल आएर उद्धार तथा राहतमा खटिएका सबै विदेशी सैनिक फिर्ता भएका छन् । आज अन्तिम टोलीको रुपमा क्यानडाका सैनिक स्वदेश फर्किएका छन् । क्यानडाका ७ जना सैनिकहरु शुक्रबार स्वदेश फिर्ता भएपछि मित्र राष्ट्रहरुबाट आएका सबै विदेशी सैनिकहरु फिर्ता हुने काम सकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । क्यानडाबाट २०२ जनाको टोली नेपाल आएकामा बाँकी यसअघि नै स्वदेश फर्किएका थिए ।
गत वैशाख १२ गते भूकम्प आएपछि खोज, उद्धार र राहत वितरणमा नेपाललाई सघाउन १८ देशबाट ४ हजार ३१६ जना विदेशी सैनिकहरु नेपाल आएका थिए ।
सबैभन्दा धेरै भारतबाट १ हजार ४१५ जनाको सैनिक टोली नेपाल आएको नेपाली सेनाले जनाएको छ । यसैगरी चीनबाट ९४२ र अमेरिकाबाट ३०० जनाको सैनिक टोली नेपाल आएको थियो ।

प्रतिक्रियाहरु