वाटफोर्ड नेपाली समाजद्वारा दुई लाख सहयोग

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौ । गत बैशाख १२ को महाभूकम्पपछि तहसनहस देश बिस्तारै मूलबाटोमा फर्किंदै छ भने देशविदेशमा बस्ने नेपाली समुदायले पनि आर्थिक-भौतिक सहयोग जुटाउने काम जारी राखेका छन् । मुटुमा देश बोकेर विदेशी माटोमा पसिना बगाइरहेका लाखौं नेपालीले यो राष्ट्रिय विपत्तिमा मन खोलेर सहयोग गरे । त्यसमा पनि सदाझैँ बेलायतवासी नेपालीहरू अग्र पंक्तिमा देखिए ।
यसै क्रममा पछिल्लो पटक वाटफोर्ड नेपाली समाजले नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहतकोशमा जम्मा हुने गरी करिब दुई लाख अठतीस हजार रुपियाँ सहयोग गरेको छ । समाजका सचिब दिपेन्द्र न्यौपाने र विष्णु पन्तले बिहीबार कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई चेक हस्तान्तरण गरेका हुन् । उत्तरी लण्डनको सानो सहर वाटफोर्डमा करिब पचास घर नेपाली बसोबास गर्दछन् । समाजले करिब डेढ़लाख बराबर जिन्सीसमेत सङ्कलन गरेर पठाएको छ ।
वाटफोर्ड काउन्सिलसित लाइसेन्स लिएर संस्थाले गत केही दिन हाईस्ट्रीट, पार्कलगायतका स्थानमा सहयोग सङ्कलन गरेको थियो । स्थानीय रोटरी क्लबसित समन्वय गरेर राहत सङ्कलन गरिएको र ठूलो रकम रोटरी क्लबमार्फत नै नेपालका भूकम्पपीड़ितसमक्ष पुर्याईएको संस्थाका सदस्य महेश गिरीले बताए ।
यसै गरी संस्थाका सदस्य कृष्ण तिवारीले चितवन जिल्लाको कविलास गाविसमा करिब आठ लाख रुपियाँ खर्चेर स्कुलको पुनर्निर्माण गर्ने घोषणा गर्नुभएको छ । संस्थाका अध्यक्ष मुकुन्द गुरुंगले अर्थसङ्कलन जारी रहेको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु