माओवादीका स्वास्थ्यकर्मी मनोसामाजिक उपचारमा

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौँ, २२ जेठ । नेकपा माओवादी निकट स्वस्थ्यकर्मीहरु भूकम्पबाट बढि प्रभावित १७ वटै जिल्लामा औषधी र उपकरणसहित अभियानात्मक रुपमा परिचालिन भएका छन् । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको नेतृत्वमा उनीहरु पहिलो चरणको अभियान सकेर दोस्रो चरण अन्तरगत प्रभावित सबै जिल्लामा पुगेका हुन् ।
महासंघले एक जना सिनियर स्वास्थ्यकर्मीको नेतृत्वमा चारदेखि पाँच जनाको टोली परिचालन गरेको छ । बढि प्रभावित ठाउँमा विशेषज्ञ चिकित्सकको सहभागितामा विशेष स्वास्थ्य शिविर पनि संचान गरेको महासंघका अध्यक्ष डम्बर रावलले बताए ।अभियान अन्तरगत जीवन बल्कोटी गोरखा, गोविन्द विष्ट सिन्धुपाञ्चोक, भैरव बोहरा काठमाडौँ, रामकुमार श्रेष्ठ लालितपुर, नेत्र कटुवाल भक्तपुर, लोकेश जोशी नुवाकोट, जनक अवस्थी काभ्रे, कैलाश लामा दोलखा, लक्ष्मण शाही रसुवा, मिना गैरे धादिङ, नर बहादुर विष्ट रामेछाप र डा. अशोकचन्द्र श्रेष्ठले मकवानपुरको नेतृत्व गरिरहेका छन् ।
त्यसैगरि विनोद रावल ओखलढुङ्गा, भुवन पुरी लमजुङ, मिना घिमिरे तनहुँ र भूकम्पपीडितलाई चितवनमा गरिएको पुर्नवास शिविरमा भिम लामाको नेतृत्वमा स्वास्थ्य शिविर चलिरहेकाे छ । महासंघले सिन्धुलीमा पनि स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
नुवाकोटमा अध्यक्ष रावलको नेतृत्वमा विशेष स्वास्थ्य शिविर संचालन गरेको छ । जापनिज नागरिक डा. इसिदाको सहभागीता रहेको उक्त स्वास्थ्य शिविर रसुवामा पनि संचालन गरिने बताइएको छ । डा. इसिदा अर्थोपेडिक सर्जन हुन् । शिविरमा अप्रेशन, एक्सरे र भिडियो एक्सरे सहितको सेवा प्रदान गरिएको छ ।
महासंघका महासचिव जनक अवस्थीका अनुसार प्रत्येक टोलीसँग प्राथमिक उपचारको लागि अत्यवश्यकीय औषधी र उपकरणको व्यवस्था गरिएको छ । भूकम्पले मनोविज्ञानमा पारेको प्रभावबाट मुक्त गराई पुरानै अवस्थामा फर्कउन मनोसामाजिक प्राथमिक उपचार, महामारी फैलिन सक्ने अवस्थामा बच्न उपायहरुको जानकारीसहितको पर्चा पनि प्रत्येक टोलीसँग छ । पर्चा अभियान पुगेको ठाउँमा वितरण गर्नुको साथै सार्वजनिक स्थलमा उक्त पर्चा टाँसिने बताइएको छ ।
अध्यक्ष रावलले नुवाकोट शिविरस्थलमा दिएको जानकारी अनुसार अभियानले तत्कालको उपचार गर्नुपर्ने समस्या, भोलीका दिनमा रोक वा समस्या फैलन नदिने उपाय र भूकम्पपछि मनोविज्ञानमा पारेको नकारात्मक प्रभावबाट मुक्त गराई मानिसहरुलाइँ पहिलेको अवस्थामा कसरी फर्काउने भन्नेमा अभियान केन्द्रीत भएको छ ।
महासंघको नेतृत्वमा यसअघि बैशाख २९ गतेको भूकम्पको केन्द्रविन्दु दोलखाका सिंगटी र काठमाडौँका विभिन्न स्थानमा विशेषज्ञ सेवा सहित शिविर संचालन गरेको थियो । अभियानमा करिब तिस लाखको औषधी र उपकरण पाठइएको केन्द्रीय कार्यालय सचिव बरुण तिमिल्निाले बताए ।

प्रतिक्रियाहरु