दलहरु ६ प्रदेश बनाउने सहमति नजिक

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । आज बिहान सिंहदरबारमा बसेको नेकपा एमाले र एमाओवादीको बैठकले राज्य पुनर्संरचनाबारे ६ प्रदेश बनाएर अघि बढ्ने सहमति गरेका छन । दुई दलको संयुक्त बैठकले प्रदेश संख्या ६ बनाउने बारे सहमति कायम गरेको हो । तर ६ प्रदेश गठनको आधार प्रस्तुत गरेर मात्रै प्रदेशको संख्या टुंगो लगाउने बारेमा पनि सहमति भएको छ । त्यसैगरी निर्वाचन प्रणालीको बारेमा पनि दुई दलबीच छलफल भएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै राख्ने÷नराख्ने, प्रत्यक्ष निर्वाचित र समानुपातिको अनुपात लगायत बारेमा पनि दुईदलले छलफल गरेका छन् ।
एमालेले प्रत्यक्ष निर्वाचको अनुपात बढी राख्नुपर्नेमा जोड दिएको थियो भने एकीकृत माओवादीले सबैको समान सहभागिताको सुनिश्चितताको लागि समानुपातिको संख्या बढी राख्नुपर्ने तर्क गरेको छ । तर दुई दलबीच भएको सहमतिका विषयमा फेरि नेपाली कांग्रेससँग छलफल गरेपछि मात्रै टुंगो लगाईने भएको छ । प्रमुख दल नेपाली कांग्रेस, एमाले, एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको संयुक्त बैठक बस्नु अघि एमाले र एकीकृत माओवादी छलफलमा जुटेका हुन् ।
यसअघि बुधबार बेलुका नेपाली कांग्रेस र एमालेले छलफल गरेका थिए । आजकै लागि बोलाईएको संविधानसभाको बैठक अघि सहमति जुटाउने प्रतिबद्धता जनाएका नेताहरुले आन्तरिक र दुई पक्षीय परामर्शलाई तिब्रता दिएका छन् ।

प्रतिक्रियाहरु