भग्नावशेष चोभार र बागमती किनारमा तह लगाइने

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं, २० जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत वैशाख १२ को भूकम्पले भित्कएका तथा जोखिमयुक्त बनेका काठमाडौं उपत्यकाको भवनको भग्नावशेष बागमती नदी किनार आसपासका खाल्डा र चोभारस्थित हिमाल सिमेन्ट कारखानाले बनाएको खाल्डो पुर्ने तयारी गरेको बताएको छ । भग्नावशेषलाई उपत्यकाभित्र महानगरपालिका तथा नगरपालिकाको कुनै ठाउँमा थुपार्ने र पछि खाल्डा पुर्न लगिने तयारी भएको सो मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराई जानकारी दिएका छन् ।हाल उपत्यकाभित्र महानगरपालिका,उपमहानगरपालिका तथा नगरपालिकाभित्र चार हजारभन्दा बढी भवन भत्काउनुपर्ने अवस्थामा छन् । तीमध्ये करिब ९०० भग्नावशेषका रूपमा रहेका भवन भत्काइसकिएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौंमा एक हजार ४५१, ललितपुरमा ६०५ तथा भक्तपुरमा दुई हजार जति भवन भत्काउन पर्ने अवस्थामा रहेको र तीमध्ये करिव दुई हजार ठूला भवन भत्काउन साधनस्रोतको अभाव रहेको ती नगरपालिकाबाट प्राप्त विवरणमा उल्लेख छ । ठूला भवन भत्काउन आवश्यक उपकरण चीन, भारत, अमेरिका र जापानसँग सहयोग माग्ने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।
रसुवा, सिन्धुपाल्चोक, दोलखालगायत भूकम्पबाट अतिप्रभावित केही जिल्लाका भग्नावशेष हटाउन संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सहयोग गर्ने भएको स्थानीय विकास मन्त्रालयका सहसचिव गोपिकृष्ण खनालले बताएका छन् ।उनका अनुसार भग्नावशेषको व्यवस्थापन आफैँ गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत कामका लागि नगद प्रदान गर्ने गरी निर्देशिका तयार भएको छ ।

प्रतिक्रियाहरु