एमाले स्थायी कमिटीको बैठक बस्दै

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं, २० जेठ । एमालेका अध्यक्ष केपी ओलीले आज अपरान्ह ४ बजे पुल्चोकस्थित उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमको निवासमा स्थायी कमिटी बैठक बोलाएका छन् । राष्ट्रिय सहमतिको सरकार गठन र त्यसअघि ‘फास्ट ट्र्याक’बाट संविधान जारी गर्ने सन्दर्भमा पार्टीको बटमलाइन बनाउन एमालेले स्थायी कमिटी बैठक बोलाएको बताइएको छ । अध्यक्ष केपी ओलीले पार्टी कमिटी र संस्थागत प्रक्रियालाई बाइपास गरेर एकल निर्णय गरेको र छलफल हुन नसकेको भन्दै केही नेताले असन्तुष्टि जनाइरहेका बेला ओलीले स्थायी कमिटी बोलाएका हुन् ।
ओलीले चलाखीपूर्वक स्थायी कमिटी बैठक पनि राष्ट्रिय सहमतिको सरकारका लागि भइरहेका चलखेलप्रति असन्तुष्ट रहेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमकै निवासमा बोलाएको स्रोतले जनाएको छ ।
पुल्चोकस्थित मन्त्री निवासमा अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्ने सूचना आएको प्रचार विभाग प्रमुख समेत रहेका सचिव योगेश भट्टराईले बताए । उनका अनुसार बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्नेछ ।
यसअघि अध्यक्ष ओलीले पार्टी बैठक आफ्नै निवासमा बोलाएको भन्दै उपमहासचिव घनश्याम भुसालसहितका नेताहरुले लिखित असहमति जनाएका थिए । त्यसयता ओलीले आफ्नो निवासमा बैठक बोलाउन छाडेका छन् ।

प्रतिक्रियाहरु