“नेपाली पहिचान दिलाउने बस्ती आवश्यक छ”

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौँ, १७ जेठ । भूगोल केन्द्र नेपालका अध्यक्ष प्रा रामकुमार पाँडेले नेपाली संस्कृति र पहिचानमा विकृति नआउने गरी राष्ट्रिय पुनःनिर्माणमा जोड दिनुभएको छ । “हतारमा हैन, राम्ररी अध्ययन गरी नेपालको पुरानो स्वरुप कायम राख्नुपर्छ, साथै नेपाल भूकम्पको जोखिम क्षेत्र पनि भएकाले नयाँ प्रविधि पनि अँगाल्नुपर्छ” रासससँग आज बिहान कुरा गर्दै उहाँले सुझाव दिनुभयो ।
नेपाली जनजातिका आआफ्नै गृहनिर्माण शैली भएकाले त्यो पहिचान जोगाउनुपर्ने सोच राख्नुपर्र्र्नेमा उहाँले जोड दिनुभयो । गुरुङको घुमाउने घर, तामाङको ढुङ्गाको घर र शेर्पाको काठको घर जस्ता विशेषता भएकाले जताततै जस्तापाताले घर छाउँदा यहाँको रुपदृश्य, वातावरण र संस्कृतिलाई खराब बनाउने उहाँको तर्क छ । भूकम्पपीडितलाई उनीहरुको हावापानी अनुकूलता प्रतिकूल जथाभाबी स्थानान्तरण गर्न नहुने सुझाव पनि उचाइ भूगोलका ज्ञाता पाँडेको छ ।
भूगर्भ र भूगोलविद्ले सिफारिस गरेका जमिनमा घर निर्माण तथा बस्ती विकास गर्नुुपर्ने बताउँदै उहाँले भन्नुभयो–“विज्ञहरु सम्मिलित परिषद्को बैठकबाट नेपाली मौलिकता, प्रविधि र भौगोलिकतालाई विचार गरेर नेपाली पहिचान दिलाउने बस्ती विकास गराउनुपर्छ, भूउपयोग र बस्ती विकासको राम्रो योजना आवश्यक छ ।”
सहरी क्षेत्रमा भाडाबाट आयआर्जन गरिरहेकाहरुलाई एक चोटि घरको तला घटाउन दिन नमिल्ने बताउँदै उनीहरुको आर्थिक स्रोतलाई पनि ध्यान दिनुपर्ने उहाँको तर्क छ । “एकैचोटि अग्लो घरमा रोक लगाउनुहुँदैन, नयाँ उपाय खोज्नुपर्छ”उहाँले भन्नुभयो । ठूला सहरमा डेरावाल र थोरै दिनका लागि बाहिरबाट आउनेहरुका लागि बस्ने ठाउँ पनि आवश्यक भएकाले त्यसबारे पनि सोच्नुपर्ने उहाँले बताउनुभयो ।
यहाँका बस्तीहरु नदी किनारमा राख्न नहुने बताउँदै उहाँले ती बस्तीलाई तुरुन्त सुरक्षित स्थानमा सार्नुपर्ने सुुझाव दिनुभयो । यस्ता विषयमा पनि कार्ययोजना ल्याइनुपर्ने उहाँले बताउनुभयो । हालै कालीगण्डकी थुनिँदा नदी किनारका बस्ती जोखिममा परेको उदाहरण उहाँले दिनुभयो ।
त्रिविमा भूगोलका पूर्वप्राध्यापक पाँडेले यहाँ विपत् व्यवस्थापनबारे केही प्रचार भए पनि त्यो त्यति काम नलागेको बताउँदै अब विद्यालय र कलेजका पाठ्यक्रममा नेपालको भूगोल, विपद् र व्यवस्थापनसम्बन्धी विषय अनिवार्य रुपमा राख्न सुझाव दिनुभयो । “विद्यालयमा नेपालको भूगोल अनिवार्य रुपमा र क्याम्पस तहमा भूगोल र विपद्बारे अनुसन्धान र परियोजना विषय राखिनुपर्छ ।”
विपत् भूगोलका अनुसन्धाता प्रा पाँडेका अनुसार यहाँ स्थानीय, क्षेत्रीय र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका बाढी, पहिरो, हिमताल विस्फोट, हिमपहिरो, अग्निकाण्ड जस्ता विपत् आउने भएकाले यस्ता विषयमा सामान्य ज्ञान विद्यालय र क्याम्पसस्तरका विद्यार्थीले जान्नुपर्ने हुन्छ ।
उहाँले भूकम्पपीडितलाई वर्षामा पालले नधान्ने भएकाले आफ्नै ठाउँमा फर्काउने व्यवस्था हुुनुपर्ने, तोकिएको ठाउँमा सामूहिक बस्ती मिलाउनुपर्ने, शौचालयको निर्माण गर्नुपर्ने, फोहरबाट सिर्जित रोगबाट बचाउन वर्षा हुनुपूर्व नै तुरुन्त व्यवस्था मिलाउनुपर्ने, वर्षापछि उनीहरुलाई उपयुक्त ठाउँमा राख्न योजना बनाउनुपर्ने तत्काल र मध्यकालका सुझाव दिँदै दीर्घकालका लागि जिल्लागत रुपमा विपद् व्यवस्थापन कार्यालय खडा गर्नुपर्ने बताउनुभयो ।
“विपत् व्यवस्थापन मन्त्रालय स्थापना गरी स्थानीय कार्यालय खडा गर्ने र त्यसलाई भूकम्प, बाढीपहिरो, आगलागी, दुर्घटना आदिका समयमा क्रियाशील र प्रभावकारी बनाउन साधनस्रोतले सम्पन्न बनाउनुपर्छ ।” उहाँले भन्नुभयो । श्याम रिमाल, रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार