“राहत अन्यत्रै दिए हुन्छ, भग्नावशेष हटाइयोस्”

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं , २ जेठ । ललितपुरको बुङ्मती, खोकनालगायत स्थानमा भत्किएका संरचना हटाउने काम नै यतिखेर प्रमुख समस्याका रुपमा रहेको छ ।
सरकार तथा निजी सङ्घसंस्थाले उपलब्ध गराएको राहत र त्रिपालमुनिको बासले तत्कालका लागि समस्या समाधान गरे पनि भत्किएका भग्नावशेष हटाउनका लागि कुनै पनि पहल र प्रयत्न नहुँदा स्थानीयवासी चिन्तामा परेका छन् । सरकारले लगत सङ्कलनपछि मात्रै भत्किएका घर तथा टहराको भग्नावशेष हटाउन आग्रह गरेपछि बुङ्मतीका बासिन्दा समस्यामा परेका छन् ।
साँघुरो बाटो र भत्किएका संरचनाका कारण ठूला डोजर तथा स्काभेटर बस्तीमा पस्न नसक्दा समस्या थपिएको स्थानीयवासीको भनाइ छ । मनसुन सुरु हुन लागेको छ । बस्ने बासको जोहो कसरी गर्ने होला भन्ने पिरलोले पनि त्यत्तिकै सताएको छ । त्रिपालले वर्षा नधान्नेमा स्थानीयवासी चिन्तित छन् । उनीहरुको तत्कालै अस्थायी आवासको व्यवस्था होस् र त्यसका लागि सरकारले पहल गरिदेओस् भन्ने चाहना पनि छ ।
भत्किएका घर तथा टहराको भग्नावशेष हटाउन पाए सोही स्थानमा नै दुःखजिलो गरेर भए पनि तत्कालका लागि अस्थायी आवास बनाउन सकिने स्थानीयवासीको भनाइ छ । गत वैशाख १२ गते गएको भूकम्पका कारण बुङ्मतीको पुरानो बस्ती पूर्ण रुपमा ध्वस्त भएको छ । बस्ती पूरै खण्डहर भए पनि बुङ्मतीवासीमा आशाको त्यान्द्रो भने चुँडिएको छैन ।
भूकम्पले धेरै नै प्रभाव पारेको सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, गोरखालगायत जिल्लामा राहत सामग्री नपुगेको खबर सुनिरहे पनि बुङ्मतीवासी त्यसका लागि भने भाग्यमानी छन् । उनीहरुलाई विभिन्न सङ्घसंस्थाले दैनिकजसो नै राहत सामग्री उपलब्ध गराएका छन् । आज पनि स्थानीय अमरापुर बुद्ध विहारमा वल्र्ड भिजन इन्टरनेसनले राहत वितरण गरिरहेको थियो ।
“हामीले दैनिकजसो राहत सामग्री पाएका छौँ, तर अन्य जिल्लाका पीडितले राहत नपाएको गुनासो सुनेका छौँ, अन्यत्र पनि समानुपातिक रुपमा राहत वितरण होस्” स्थानीयवासी मानरत्न वज्राचार्यले रासससँग भन्नुभयो, ‘‘हाम्रो एउटा मात्रै माग छ भत्किएको संरचना हटाउने पहल होस् र पिउने पानीको प्रभावकारी व्यवस्था गरियोस्, अरु हामीलाई चाहिएन ।’’
काष्ठकलाको व्यवसाय गर्दै आउनुभएका वज्राचार्यले १६ जनालाई रोजगारी पनि दिनुभएको थियो । “भत्किएका संरचना हटाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई फर्म भरेर मात्रै हटाउन भनेकाले पनि समस्यामा परेको भन्दै तत्काल त्यसका लागि सहज वातावरण बने स्थानीयवासीले आफ्नो थातथलोको सामान हटाउन पाउने थिए”– वज्राचार्यको भनाइ छ ।
पिउनेपानीको समस्या
बुङ्मतीमा यतिखेर सबैभन्दा बढी समस्या पिउने पानीको देखिएको छ । चन्द्रनहरबाट प्रदान गरिएको पिउने पानीको पाइपमा समस्या आएका कारण पानी वितरण हुन नसकेको स्थानीयवासीको भनाइ छ । स्थानीयवासीले तत्काल पिउने पानीको सहज आपूर्तिको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।
बुङ्मतीका अर्का बासिन्दा तीर्थलाल माली भत्किएका संरचना हटाउनका लागि सरकारले विशेष पहल गरिदेओस् भन्नुहुन्छ । “भत्किने जति भत्किहाल्यो, हिँडडुुल गर्न पनि समस्या छ, भग्नावशेष हटाउन पाइयो भने धेरै राहत मिल्छ, सडक साँघुरो भएका कारण भग्नावशेष हटाउन पनि समस्या भएको छ”, माली भन्नुहुन्छ ।
सोही स्थानका भरत तुलाधरको मत पनि अरुको भन्दा फरक छैन । भत्किएको घर अगाडि टोलाइरहनुभएका तुलाधर तत्काल भग्नावशेष हटाउने उपायको खोजीमा हुनुहुन्छ । ‘‘मनसुन सुरु हुन लाग्यो, भग्नावशेष हटाउन पाए, अस्थायी बसोबासको व्यवस्था गर्न सकिन्थ्यो कि, हामीलाई राहत चाहिँदैन, पिउने पानीको व्यवस्था होस्’’, तुलाधर भन्नुहुन्छ ।
स्थानीयवासी गीता तुलाधर पनि भग्नावशेष हटाउन पाए सहज हुने थियो भन्नुहुन्छ । भग्नावशेष अगाडि केही सामान बटुल्दै रहनुभएकी तुलाधरको पनि एउटै माग छ–“ पिउने पानी सहज रुपमा पाइयोस् र भग्नावशेष हटाउन पाइयोस् ।” स्थानीयवासीले राहत अन्य जिल्लामा पठाउन आग्रह गर्दै तत्कालका लागि शुद्ध पिउने पानी र भग्नावशेष हटाउन सरकारसँग आग्रह गरेका छन् । – रासस

प्रतिक्रियाहरु