भक्तपुरमा सरसफाई गर्दै मुख्य सचिव

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं, २ जेष्ठ । भूकम्पबाट क्षतिग्रस्त भएको भक्तपुरका विभिन्न स्थानको सरसफाईमा मुख्य सचिव लीलामणी पौडेलको नेतृत्वमा टोलि खटिएको छ ।
भूकम्पपछि बागमती सरसफाई रोकेर मुख्य सचिव पौडेलको निर्देशनमा भूकम्प प्रभावित क्षेत्र भत्किएका संरचनाहरु हटाउने र सरसफाई गर्ने अभियान अन्तर्गत शनिबार दोस्रो हप्ता पनि भक्तपुरको सरसफाई गरिएको हो ।
गएको शनिबारदेखि सुरु भएको यो अभियान अन्तर्गत सरसफाईलाई निरन्तरता दिएको मुख्य सचिव पौडेलले जानकारी दिए । गएको शनिबार भन्दा यो शनिवार सरसफाईमा सहभागी हुनेहरु कम भएपनि आउँदो शनिबार यसलाई व्यापक बनाउने र सरसफाईलाई प्रभावकारी बनाउने उनले बताए ।
भक्तपुर नगरक्षेत्रको ६ वटा नाकाबाटै बिहान सात बजेबाट १० बजेसम्म एकैसाथ सुरु भएको सरसफाई अभियानले भक्तपुर नगरक्षेत्रमा भत्किएका सरंचनाहरुलाई व्यवस्थित गर्ने, सरसफाई गर्ने, भत्किएर थुप्रिएका संरचनाहरु हटाउने कार्य गरेको छ ।
सरसफाई अभियानमा सरकारी निकायको कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु समेतको सहभागितामा भक्तपुर नगरक्षेत्र भित्र भूकम्पले भत्काएको संरचनाको सरसफाई गरिएको हो ।

प्रतिक्रियाहरु