विद्यालय भवन जाँच गराउन निर्देशन

२०७२ जेष्ठ १ गते, शुक्रबार

काठमाडौं,१ जेठ । सरकारले विद्यालय भवनको जाँच गराएरमात्र पठनपाठन सुरु गर्न सबैलाई निर्देशन दिएको छ । भूकम्प र त्यसपछिका पराकम्पनका कारण भवनमा क्षती पुगेको हुन सक्ने भएकाले भवनको जाँच गराएरमात्र पठनपाठन सुरु गर्न निर्देशन दिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जिल्लामा खटिएका प्राविधिकले बस्न योग्य सिफारिस गरेमा मात्र बस्न आग्रह गरेका छन ।
कक्षाकोठा प्रयोग गर्न उपयुक्त नभए अस्थायी कक्षाकोठा वा सिकाई केन्द्रको व्यवस्थाका लागि जिल्ला शिक्षा कार्यालयमा सम्पर्क गर्न उन ले आग्रह गरे । भवन, खेलमैदान, चउर वा खुल्ला जग्गा कुनै उपलब्ध नभए, सुरक्षित विकल्पको खोजी गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
विद्यालयमा पाठ्यक्रममा प्रवेश गर्नुअघि विद्यार्थीमा भएको डर, त्रास हटाउन र जीवन सामान्यकरण गर्न उनीहरुलाई मनोपरामर्श, अतिरिक्त क्रियाकलाप, खेलकुद, बालगीत तथा संगीतसँगै अरु अन्तरक्रियात्मक क्रियाकलाप गराउन सबैलाई प्रवक्ता लम्सालले आग्रह गरेका छन ।
बैशाख १२ गतेको भूकम्पका कारण लामो समयसम्म विद्यालय बन्द भएकाले अब आफ्नै क्षेत्रबाट अध्ययन अध्यापनको वातावरण बनाउन सरकारले सबैलाई आग्रह गरेको छ । भूकम्पपछि बढी प्रभावित १४ सँगै अरु जिल्लामा ध्वस्त तथा आँशिक क्षति भएका विद्यालय भवन सुरक्षित भएको सुनिश्चित भएपछि शैक्षिक गतिविधि सुरु गर्न शिक्षा मन्त्रालयले सबैलाई आग्रह गरेको छ । त्यसको लागि खाली ठाउँमा अस्थायी सिकाई केन्द्र स्थापना गरी पठनपाठन सुरु गर्न सरकारले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु