बेपत्ता अमेरिकी हेलिकप्टरको खोजीकार्य जारी

२०७२ बैशाख ३१ गते, बिहीबार

काठमाडौं, ३१ बैशाख । भूकम्प पीडितको उद्धारमा खटिएको अमेरिकी सेनाको गत मंगलबारबाट हराएको मरिन युएच १ वाई हुवे हेलिकप्टर अझै फेला परेको छैन । दोलखाको सुनखानी क्षेत्रमा गएको उक्त हेलिकप्टर मंगलबार दिउंसो साढे २ बजेबाट सम्पर्कबिहीन भएको थियो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेका अनुसार आज पनि बिहानैदेखि दोलखाको सुनखानी, खांघटी र डगुवार क्षेत्रमा हवाई र पैदल दुवै मार्गबाट हेलिकप्टरको खोजी भइरहेको छ ।
हिजो दिनभर स्थानियबासिन्दाले दिएको जानकारी अनुसार दोलखाका बिभिन्न ठाउंमा खोजी गरेपनि हेलिकप्टरको अवस्था थाहा हुन नसकेको हो ।
हेलिकप्टरमा अमेरिकी मरिनका ६ र दुई नेपाली सैनिक रहेको बताइएको छ । हेलिकप्टरले चरिकोटबाट अन्तिम सर्किट रिपोर्ट गरे पछि सम्पर्क बाहिर गएको थियो ।
यो हेलिकप्टर अमेरिकी सेनाको कार्गोमा जापानबाट ल्याइएको हो । यस्ता तीन हेलिकप्टर र भी २२ ओस्प्रे चारसहित सात अमेरिकी विमान नेपालमा परिचालित छन् ।

प्रतिक्रियाहरु