अमेरिकी हेलिकप्टर फेला परेको संकेत

२०७२ बैशाख ३० गते, बुधबार

काठमाडौं, ३० बैशाख । हिजोदेखि हराएको अमेरिकी सेनाको मरिन यूएच वानएच हेलिकप्टर दोलखाको सुनखानी गाविसको वडा नम्बर ४ र ५ को बीचमा पर्ने वगुवा खोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताइएको छ ।दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय रामकाजी श्रेष्ठलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन् ।अहिले सो स्थानमा सुरक्षाकर्मी पठाइएकाले उनीहरु त्यहाँ पुगेपछिमात्र आधिकारिक पुष्टि हुने उनले बताए ।
दोलखाको सुनाखानी क्षेत्रमा भूकम्प पिडीतको उद्धारमा गएको सो हेलिकप्टर हिजो दिउंसो २ः३० बजेबाट सम्पर्कविहीन भएको थियो ।वेपत्ता हेलिकप्टर खोजीको लागि सेनाका चार वटा हेलिकप्टर परिचालित छन् भने पैदल मार्गबाट पनि हेलिकप्टरको खोजी भईरहेको छ । सो हेलिकप्टरमा दुई अमेरिकी र एक नेपाली सवार थिए । अमेरिकी रक्षा मन्त्रालयले भने सो हेलिकप्टरमा ८ जना रहेको दावी गरेको छ ।

प्रतिक्रियाहरु