भारत र बंगलादेशबीचको समुद्री सीमा विवाद टुंन्ग्यो

२०७१ असार २५ गते, बुधबार

काठमाडौँ, २५ असार । भारत र बंगलादेशबीच तीन दशक भन्दा लामो समुद्री सीमा विवाद अन्त्य भएको छ ।संयुक्त राष्ट्रसंघको न्यायाधीकरणले विवादित क्षेत्रको झण्डै ८० प्रतिशत हिस्सा बंगलादेशलाई दिने निर्णय गरेपछि बिवाद टुंगिएको हो ।
समुद्री सीमाबारेको मध्यस्थता सम्बन्धी स्थायी न्यायालयको निर्णय अनुसार दुई देशको विवादित क्षेत्र बंगालको खाडीको २५ हजार वर्ग किलोमिटरमध्ये १९ हजार ५ सय वर्ग किलोमिटर क्षेत्र बंगलादेशले र झण्डै ६ हजार वर्गकिलोमिटर क्षेत्र भारतले पाउने छ । भारत र बंगलादेश दुवैले न्यायालयको फैसलाको स्वागत गरेका छन् ।
बंगलादेशका विदेशमन्त्री अबुल हसन महमूद अलिले न्यायालयको फैसलालाई मित्रताको विजय भन्दै बंगलादेश र भारत दुवै देशका नागरिका लागि जीतको स्थिति रहेको बताउनुभयो ।
भारतको परराष्ट्र मामिला मन्त्रालयले लामो समय देखिको मुद्दा टुंग्याएर समुद्री सीमा निर्धारण हुनुले आपसी समझदारी र सद्भावना बढाउने विश्वास व्यक्त गरेको छ । भारतसंगको समुद्री सीमा विवाद मुद्दालाई बंगलादेशले सन् २००९ मा संयुक्त राष्ट्रसंघको सामुद्रिक कानुन सम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधीकरणमा उठाएको थियो ।

प्रतिक्रियाहरु