नेवानिले ५६ औं वार्षिकोत्सव मनायो

२०७१ असार १७ गते, मंगलवार


काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ५६ औं वार्षिकोत्सव मनाएको छ ।आवश्यक जहाजको अभावमा झण्डै झण्डै टाट पल्टिने अवस्थामा पुगेको निगम ५७ वर्ष प्रवेश गर्दैगर्दा यो वर्ष केही नयाँ जहाज पाउने आशामा रहेको छ । राजधानीमा मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उपस्थित पर्यटन तथा नागरिक उड्डयनमन्त्री भिम आचार्यले पनि १५ दिनभित्र चार वटा जहाज खरिद गर्ने प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन ।पर्यटनमन्त्री आचार्यले दुई वटा वाइड बडी र २ वटा न्यारो बडी गरी चार वटा जहाज ल्याउने निर्णय १५ दिन गर्न निगमलाई निर्देशन दिए । मन्त्री आचार्यले नयाँ जहाज ल्याउन लाग्ने सबै प्रक्रिया टुंगाई संचालनमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए । तर, आफुले दुई महिना अघि दिएको निर्देशन अहिलेसम्म पालना नभएको भन्दै आचार्यले निगमको कार्यशैलीप्रति असन्तुष्ट समेत जनाए ।
कार्यक्रममा निगमका महाप्रबन्धक मदन खरेलले भने यो वर्षमा मात्रै १५ वटा जहाज ल्याउने तयारी अन्तिममा पुगेको बताए ।निगमले आन्तरिक उडानका लागि चीनबाट ५६ सिट क्षमताका दुईवटा एमए–६० र चारवटा अन्य साना गरी ६ वटा जहाज ल्याउँदै छ । ती मध्ये अनुदानमा प्राप्त एउटा एमए–६० जहाज दुईमहिना पहिले नै आइसकेको थियो । अनेकौं अवरोध छिचोल्दै केहदिन अघिबाट मात्रै सहरी क्षेत्रका गन्तव्यमा व्यवसायिक उडान सुरु गरेको एमए–६० विराटनगरमा चरासँग ठोक्किएपछि केहीदिनका लागि ग्राउन्डेड भएको छ ।निगमले अन्तराष्ट्रिय उडानका लागि भने एयरबसबाट वाईड वडी र न्यारोबडी गरी दुईवटा जहाज खरिद गरेको छ । दुवै जहाज सन् २०१५ सम्ममा नेपाल आइपुग्ने छन् ।वार्षिकोत्सव कार्यक्रममा निगममा २५ वर्षसम्म काम गरिरहेका १५ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु