प्रथम विश्वयुद्ध भएको सय बर्ष पुरा

२०७१ असार १४ गते, शनिबार


काठमाडौं, १४ असार । प्रथम विश्वयुद्ध शुरु भएको आज एक शताब्दी पूरा भएको छ । आजभन्दा ठीक सय वर्ष अगाडि सन् १९१४ जून २८ का दिन सरायेभोमा अष्ट्रियाका राजउत्तराधिकारी आर्चड्यूक फ्रान्च फर्डिनैन्ड र उनकी पत्नी सोफीको सर्ब राष्ट्रवादी गैवरिलो प्रिन्सिपले हत्या गरेपछि युद्धको आगो सल्केको थियो ।यसलगत्तै अघिल्ला छ हप्तामा युद्धको आगोले सारा विश्वलाई नै लपेटिदियो । जर्मनीको समर्थनमा अष्ट्रिया–हंगेरीले सर्बियालाई चेतावनी दिएलगत्तै एकपछि अर्को गर्दै शक्ति र सत्तामा अन्धो बनेका विश्वका एकसेएक हस्ती राष्ट्रहरु युद्धमा जोडिए जसले जन, धन र भौतिक विकासको ध्वंस गराइदियो । चार वर्षसम्म चलेको उक्त युद्धको क्षति यस्तो रह्यो कि त्यसलाई झुक्किएर पनि सम्झनलायक थिएन ।
दुई जनाको हत्याबाट शुरु भएको यो विनाशकारी युद्धलीलाको चार वर्षमा यूरोप, एशिया, अफ्रिका र अमेरिकाका एक करोड ८० लाख मानिसलाई मृत्युको मुखमा पु¥याइयो । अगस्ट १ मा रुसविरुद्ध युद्ध घोषणा गरेको जर्मनीले त्यसको दुई दिनपछि फ्रान्स, बेल्जियम हुँदै एकपछि अर्को छिमेकी देशविरुद्ध धावा बोल्न थाल्यो । त्यही बेला ब्रिटेनपनि बेल्जियमको रक्षाका नाममा युद्धमा होमियो ।अष्ट्रिया–हंगेरी रुसविरुद्ध होमिए भने सर्विया जर्मनीविरुद्ध युद्धमोर्चामा उभियो । कहिले कस्ले जित्ने त कहिले कसले जित्ने यस दौडमा जर्मनीको साथमा थिए, अष्ट्रिया–हंगेरी जस्ता मुलुक भने त्यसविरुद्ध जुटे ब्रिटेन, फ्रान्स, रुस, अमेरिका जस्ता हस्ती राष्ट्र ।शुरुमा निरपेक्ष बसेको अमेरिका पनि तीन वर्षपछि अप्रिल १९१७ मा युद्धमा संलग्न भयो र आफ्ना एक लाख १७ हजार नागरिकलाई युद्धमा गुमायो । जर्मनीको हारसँगै युद्ध सकिँदा यसका साथी राष्ट्र अष्ट्रिया–हंगेरी तथा रुसका साम्राज्यहरु पतन भए भने ब्रिटेन, फ्रान्स, रुस, अमेरिकाको दबदबा क्रमशः बढ्न थाल्यो ।युरोपमा त कति देश नक्शाबाटै विलिन भए । युरोपको युद्ध आगोले तिनका उपनिवेश राष्ट्रहरुलाई पनि पक्ष विपक्षमा उभ्यायो । युद्धको प्रभाव यस्तो रह्यो कि कतैबाट नछुने नेपालजस्ता मुलुकका होनाहार युवाहरु पनि युद्धमा सामेल भए र मारिए ।
११ नोभेम्बर १९१८मा युद्ध समाप्ती गर्दा हरुवा जर्मनीमाथि जितुवा राष्ट्रहरुले थोपरेको असमान भारले १६ वर्ष पुग्दा नपुग्दै जर्मनीमा नाजी शासक हिटलरको उदय गरायो र अर्को विनाशकारी विश्व युद्धमा विश्वलाई होम्यो ।

प्रतिक्रियाहरु