डिडिसीले घीउको मूल्य बढायो

२०७० पुष ३० गते, मंगलवार


काठमाडौं- दुग्ध विकास संस्थानले माघे संक्रान्तिको मुखैमा घीउको मूल्य बढाएको छ। संस्थानले एक लिटर घीउमा ७० रुपैयाँले मूल्य बढाएको हो। अब उपभोक्ताले एक लिटर घीउका लागि सात सय ५० रुपैयाँ र आधा लिटरका लागि तीन सय ७५ रुपैयाँ तिर्नुपर्नेछ। संस्थानका अधिकारीले घीउको मूल्य बढ्नुमा किसानबाट कम फ्याट भएको दूध प्राप्त हुनु, किसानले दूधको मूल्यवृद्धिको माग गर्नु र भारतमा बढ्दै गरेको दूधको मूल्यलाई कारण भनेका छन्। ‘अहिले हामीले किसानबाट कम फ्याट भएको दूध प्राप्त गरिरहेका छौं,’ संस्थानका व्यापार प्रमुख माधव ओझाले भने। उनले दूधमा रहेको फ्याटले घीउको उत्पादनमा प्रत्यक्ष असर गर्ने भएकाले मूल्य बढाउनुपरेको बताए। देशका किसान अहिले भैंसीभन्दा गाईपालनमा आकर्षित भएको उनले सुनाए। भैंसीको तुलनामा गाईको दूधमा कम फ्याट हुन्छ। ‘भैंसीको दूधमा पाँच प्रतिशत फ्याट हुन्छ जबकि गाईकोमा चार प्रतिशतभन्दा कम हुन्छ,’ ओझाले भने।
भारतमा दूधको मूल्य नेपालको तुलनामा महँगो भएकाले पनि यसले नेपाली बजारमा प्रभाव पारेको संस्थानका अधिकारी बताउँछन्। संस्थानले दैनिक दुई हजार लिटर घीउ उत्पादन गर्छ। यसले दैनिक ३० हजार लिटर दूध भारतका विभिन्न राज्यबाट आयात गर्छ।
निजी क्षेत्रका दुग्ध उत्पादकले पनि अर्को सातादेखि घीउको मूल्य बढाउने तयारी गरेका छन्। काठमाडौं डेरीका प्रोप्राइटर प्रदीप महर्जनले निजी डेरीले दूध कम प्राप्त गरिरहेको र त्यसमा फ्याट कम रहेको बताए। ‘घीउ र अन्य दुग्ध उत्पादनको मूल्य बढ्ने निश्चित छ। अर्को साताभित्र नयाँ मूल्य सार्वजनिक गरिने छ,’ महर्जनले भने। उनका अनुसार, निजी डेरीले पनि घीउको मूल्य एक लिटरको सात सय रुपैयाँभन्दा बढी तोक्ने छन्।
नेपाल दुग्ध विकास बोर्डका निर्देशक बालक चौधरीले बोर्डले अहिले भारतीय र नेपाली दूधको बजार, मूल्य र स्रोतको अध्ययन गरिरहेको बताए। ‘हामी केही दिनमै दूध, घीउ, दही र अन्य दुग्ध पदार्थको मूल्यवृद्धिबारे ठोस निष्कर्षमा पुग्ने छौं,’ चौधरीले भने।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार