रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण गरिने

२०७० मंसिर २५ गते, मंगलवार

काठमाडौ, २५ मंसिर ।नेपाल–चीनबीचको व्यापारिक कारोबारको दोस्रो ठूलो नाका रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणको लागि प्राविधिक अध्ययन सुरु भएको छ। चीनको सहयोगमा रसुवागढीको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहको चिनियाँ प्राविधिकले स्थलगत अध्ययन गरिसकेका छन्।एक साताअघि आएको आठजनाको उच्चस्तरीय प्राविधिक टोली स्थलगत अध्ययन सकेर स्वदेश फिर्ता भइसकेको छ। यो टोलीले स्थलगत अध्ययनको प्रतिवेदन चीन सरकारलाई बुझाउनेछ।’सुक्खा बन्दरगाह निर्माणमा चिनियाँले चासो राखेर यहाँ आएका हुन्। उनीहरुले छिटोभन्दा छिटो बन्दरगाह निर्माण गर्न चाहेको प्रस्ट हुन्छ,’ वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘यो सुक्खा बन्दरगाह निर्माण भए द्विपक्षीय व्यापार अभिवृद्धि हुनेछ।’
रसुवागढी नाकाबाट नेपाली सामानसमेत निकासी भएको छ। यसबाहेक रसुवागढी नाका हुँदै चिनियाँ सामान पनि आउन थालेको छ। गल्छी हुँदै धुन्चेसम्मको सडक स्तरोन्नति भइसकेको छ। धुन्चेदेखि रसुवागढीसम्म सडक स्तरोन्नति भइरहेकोले यो नाकाको सम्भावना पनि बढिरहेको छ। व्यापारिक रणनीतिका हिसाबले पनि यो नाकालाई नेपालले महत्वपूर्ण रुपमा हेर्दै आएको छ। नेपाल–चीनबीचको प्रमुख नाका तातोपानी भौतिक पूर्वाधारको हिसाबले अत्यन्तै कमजोर मानिन्छ। यो नाकाबाट सामान ल्याउँदा सिन्डिकेटका कारण भाडासमेत महँगो छ। ट्रक कन्टेनर व्यवसायीको मिलेमतोका कारण तातोपानीदेखि काठमाडौंसम्मको १ सय २१ किलोमिटरको दुरीमा ९० हजारभन्दा बढी भाडा छ। यो बाहेक दसैं, तिहार, जाडोलगायतको समयमा कन्टेनर व्यवसायीले आफूखुुसी भाडा तय गर्दै आएका छन्। तातोपानीदेखि काठमाडौंसम्मको सडकसमेत राम्रो छैन। चीनले समेत रसुवागढीलाई वैकल्पिक नाकाको रुपमा हेरिरहेको छ। चीनले सिगात्सेसम्म ल्याएको रेलमार्ग पनि रसुवागढी नाकासम्म ल्याउने योजना बनाएको छ।वाणिज्य मन्त्रालयका अनुसार चिनियाँ प्राविधिक टोलीले नेपालको हावापानी, विद्युत, भूसतहको स्थिति, सहरी विकासलगायत विषयमा जानकारी मागेका छन्। मन्त्रालयले यो सबै जानकारी दिन इन्टरमोडल यातायात समितिलाई निर्देशन दिएको छ।’चिनियाँ पक्षले मागेको सबै जानकारी छिटोभन्दा छिटो दिने प्रयास गर्नेछौं,’ वाणिज्यका ती अधिकारीले भने, ‘हाम्रो लागि पनि यो बन्दरगाह आवश्यक छ। यसले नेपाली वस्तु निकासी समेत सहज हुन्छ।’मन्त्रालयका अनुसार बन्दरगाह निर्माणको लागि नीतिगत निर्णयबारे छलफल गर्न चिनियाँ उच्चस्तरीय टोली मंसिर ३० गते नेपाल आउँदैछ। बन्दरगाह निर्माणको अवधारणा टुंगो लगाउन टोली आउन लागेको हो। मन्त्रालयका अनुसार तिब्बत सरकारको वाणिज्य विभागका उपमहानिर्देशक झु हुइको नेतृत्वमा टोली आउनेछ।
‘बन्दरगाह निर्माणको लागि नीतिगत स्पष्टता आवश्यक छ। यसको लागि अर्को टोली आउन लागेको हो,’ उनले भने, ‘यो टोलीले कुन अवधारणामा बन्दरगाह निर्माण गर्ने भन्ने तय गर्नेछ।’ नेपाल–चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण हुनु स्वागतयोग्य भएको प्रतिक्रिया दिए। यसले दुई देशको व्यापारलाई बढावा दिने उनले बताए।’नेपाल र चीनबीचको कारोबार बढ्दै छ। कारोबार बढेको आधारमा नाकामा सुधार हुनु स्वागतयोग्य हो,’ उनले नागरिकसँग भने, ‘सुक्खा बन्दरगाह बनेपछि सामान आयात/निर्यातमा धेरै सुविधा हुन्छ। यसले व्यापार सहजीकरणमा समेत सहयोग पुर्‍याउँछ।’ नेपाल र चीनबीचको व्यापार अभिवृद्धिका लागि सडक सञ्जाल लगायत भौतिक पूर्वाधारमा सुधार गर्नुपर्ने श्रेष्ठले बताए।’पछिल्लो समयमा व्यापार अभिवृद्धिका लागि चीनले प्रयास थालेको छ। यसलाई अझै विस्तारित रुपमा अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘सुक्खा बन्दरगाह लगायतका पूर्वाधार निर्माणले नेपाली वस्तु व्यापारमा समेत सघाउ पुर्‍याउँछ।’ रसुवागढीको टिमुरेमा चीनले निर्माण गरिदिने सुक्खा बन्दरगाहको लागि आवश्यक जग्गा अधिग्रहण भने नेपाल सरकारले गर्नुपर्नेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार