उर्जा सम्मेलन २०१३ सुरु

२०७० भाद्र १० गते, सोमबार

काठमाडौं, १० भदौ। आजदेखि जलविद्युत विकास गतिमा तीव्रता भन्ने नाराका साथ उर्जा सम्मेलन २०१३ सुरु हुँदैछ । सम्मेलनको राष्ट्रपति डा. रामबरण यादबले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान) ले जनाएको छ ।
सोल्टी होटलमा हुने सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ५०० सहभागी हुनेछन् । जलविद्युतको विकाससँग सम्बन्धित सबै पक्षहरुमाथि गहन छलफल गरी सम्पूर्ण सरोकारवालालाई एउटा साझा एजेण्डामा केन्दि्रत गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको इपानले जनाएको छ । ‘नेपाललाई जलविद्युतमय राष्ट्रको रुपमा निर्माण गर्ने’ साझा एजेण्डा प्रस्ताव गरिएको छ ।
त्यस क्रममा नेपालको जलविद्युत विकासको चार खम्बाको रुपमा पहिचान गरिएका विषयमा छलफल हुने कार्यक्रम छ । जसअनुसार, आन्तरिक खपतका आयोजना र आन्तरिक लगानी, आन्तरिक खपतका आयोजना र विदेशी लगानी, वाहृय बजार केन्दि्रत आयोजना र विदेशी लगानी, र विद्युत व्यापार संयन्त्र, प्रसारण प्रणाली र बजार व्यवस्थापन रहेका छन् ।
सम्मेलनले करिब १०० किवा घण्टा प्रतिव्यक्ति प्रतिवर्ष ऊर्जा खपत रहेको वर्तमान अवस्थालाई कहाँ पुर्‍याउने भनी एउटा साझा लक्ष्य पनि तयार गर्ने इपानका अध्यक्ष सुवर्णदास श्रेष्ठले बताउनुभयो । जलविद्युत विकासमा निजी क्षेत्रको स्थान, वाहृय बजार केन्दि्रत विद्युत उत्पादनमा राजनैतिक साझा अवधारणा, स्वतन्त्र विद्युत प्रसारण कम्पनी, विद्युत व्यापार संयन्त्रको स्थापना, चुनावी घोषणापत्रमा जलविद्युतको स्थान, राष्ट्रिय विद्युत खपतको लक्ष्य जस्ता विषय सम्मेलनको मुख्य आकर्षण हुने बताइएको छ ।
आन्तरिक मागमा आपूर्तिको अवस्था, नेविप्रा प्रतियुनिट विद्युत खरिदमा घाटा, विद्युत निर्यातमा फरक मत, विद्युत व्यापारका अवरोध, आयोजनामा आधारित लगानी, मुद्रा विनिमय जोखिम र एकद्वार प्रणाली मुख्य चुनौतीको रुपमा छलफलको केन्द्रबिन्दु हुने इपानले उल्लेख गरेको छ । पहिलो दिन सोमबार उद्घाटनपछि ४ वटा प्रस्तुतीकरण गरिने कार्यक्रम रहेको छ ।
अगस्ट २६ र २७ तारिखमा गरिने यस सम्मेलनको पहिलो प्राविधिक सेसनमा आन्तरिक खपतका आयोजना, तिनका वर्तमान अवस्था, विद्युत मूल्य, वास्तविक ऊर्जाको आवश्यकता र आपूर्ति, अनि द्विपक्षीय विद्युत बजारलगायत क्षेत्रीय विद्युत बजारको सम्भावना, स्वरुप र चुनौतीअन्तर्गत ५ वटा कार्यपत्रमाथि गहन छलफल गरिने इपानले जनाएको छ ।
दुइटा प्यानेल छलफलअन्तर्गत पहिलोमा नेपालको आन्तरिक विद्युतको मागको अवस्था, स्वतन्त्र ऊर्जा उत्पादकको भूमिका, बजारमा आधारित विद्युत मूल्य, क्षेत्रीय विद्युत बजारको औसत खपतमा नेपालले प्राप्त गर्न सक्ने लक्ष्यमा विचार केन्दि्रत छलफल हुने जनाइएको छ ।
दोस्रोमा नेपालको जलविद्युत विकासको दिशा निर्देशनमा राजनीतिक चिन्तन रहने छ । जसअन्तर्गत नेपालका राजनीकिर्मीमाझ नेपालको जलविद्युतको लक्ष्य के हुनुपर्छ, आन्तरिक र वाह्य बजार केन्दि्रत जलविद्युतको विकासमा के कस्ता रणनीति अपनाउनुपर्छ, सरकार र निजी क्षेत्र कसरी अगाडि बढनुपर्छ, स्थानीय अपेक्षाको व्यवस्थापनमा सरकार र निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्छ र आगामी संविधानसभाको चुनावी घोषणापत्रमा जलविद्युतको विकासको कार्यान्वयनको परिकल्पना कसरी समेटिनुपर्छ भन्ने विषय समेटिने छ ।
सम्मेलनको दोस्रो दिन दुइटा प्राविधिक सेसनअन्तर्गत आन्तरिक खपतका आयोजना र बाहृय बजार केन्दि्रत आयोजनाको आर्थिक व्यवस्थापनसँग सम्बन्धित कानुनी संयन्त्र र सामान्जस्यता, आयोजना विकास सम्झौता, आर्थिक व्यवस्थापन र नेपालमा विद्युत विकासमा विदेशी अनुभव, गैरआवासीय लगानीका सम्भावना र चुनौती गरी ९ वटा कार्यपत्रमाथि छलफल हुनेछ ।
दोस्रो सत्रमा नेपाललाई जलविद्युतमय राष्ट्रको रुपमा निर्माण गर्न आवश्यक पूर्व सर्तहरु साझा राजनैतिक अवधारणा, विद्युत व्यापार संयन्त्रको विकास, प्रसारण प्रणालीको गहन आवश्यकता र यससँग सम्बन्धित कानुन, बेसिनको आधारमा वैज्ञानिक विद्युत विकास जस्ता विषय संलग्न ५ वटा कार्य पत्र प्रस्तुत हुनेछ । अन्तमा निष्कर्ष केन्दि्रत प्लेनारी सत्र राखिएको छ
इपानको आयोजनामा हुने ऊर्जा सम्मेलनलगत्तै अगस्त २८ र २९ मा जलविद्यु लगानी तथा विकास कम्पनीको आयोजनामा जलविद्युत लगानी बैठक आयोजना हुँदैछ । दुई सम्मेलनबीच समन्वय गरेर प्रभावकारिता अभिवृद्धि गर्न प्रयास गरिने इपानले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार