त्रिशूली ३ ए को काम बन्द

२०७० असार २१ गते, शुक्रबार


काठमाडौं, असार २१ – माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको ठेकेदार आफैंले काम ठप्प पारेका छन् । एमाओवादी, कांग्रेस, एमालेलगायत दलका कार्यकर्ता मिलेर २६ सूत्रीय माग राख्दै बन्द गरेको भोलिपल्ट चिनियाँ ठेकेदार कम्पनी गेजुवा आफैले आयोजनास्थलको काम ठप्प पारेको हो । रसुवाका तीन राजनीतिक दलले २० प्रतिशत सेयर प्रभावित जिल्लावासीलाई हुनुपर्ने, आयोजना १ सय ४५ मेगावाटको हुनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत २६ सूत्रीय माग राखेको भोलिपल्ट ठेकेदारले काम बन्द गरेको हो । आयोजनाको बाँधस्थल रसुवाको सल्लोटारको तल र माथिको सुरुङ, नुवाकोट मनकामना-९ सिम्लेमा पर्ने पावर हाउस निर्माणका लागि दुई वटा सुरुङको काम बन्द भएको छ । आयोजनास्थलमा गेजुवाका १ सय चिनियाँ र ५ सय नेपाली कामदार थिए ।
सरकारले क्षमता विस्तार नगरी ६० मेगावाटमै बनाउने निर्णय गरेपछि आयोजना स्थलमा एक सातादेखि राम्ररी काम हुन सकेको थिएन । आयोजनाले अहिलेसम्म १ किलोमिटर सुरुङ निर्माण गरिसकेको छ । आयोजनाले २२ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । आयोजना चीनको एक्जिम बैंकको १२ दशमलव ५ सय ७८ करोड अमेरिकी डलर (करिब १० अर्ब ६ करोड रुपैयाँ) ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको आयोजना हो ।आयोजनाका लागि ऋणसम्बन्धी सम्झौतामा एक्जिम बैंक र नेपाल सरकारबीच ०६७ फागुन १६ मा ऋण सम्झौता भएको थियो । १ सय ४४ दशमलव ५ मिटर हेड रहने भूमिगत आयोजना ईपीसी मोडलमा निर्माण गर्न लागिएको हो । नदीको प्रवाहमा आधारित आयोजनाबाट उत्पादित विजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न आयोजनास्थलदेखि काठमाडौंको मातातीर्थ सवस्टेसनसम्म ४८ किलोमिटर २२० केभीए ट्रान्सिमिसन लाइन विस्तार गर्ने काम भइरहेको छ ।४ हजार ९५ मिटर लामो सुरुङमार्फत नदीको पानी पेनस्टेकमा पुर्‍याइने छ, त्यसलाई १८ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने भूमिगत विद्युत् गृहका टर्वाइनमा पुर्‍याइने लक्ष्य थियो । सन् २०१४ को मेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको सो आयोजना निर्माण अझै ढिलाइ हुने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार