सुरूङमार्गलाई निर्माण अनुमति

२०७० जेष्ठ ८ गते, बुधबार

काठमाडौ । करिब ३४ अर्ब लगानीमा निर्माण हुन लागेको काठमाडौं-कुलेखानी-हेटौडा सुरूङमार्ग परियोजनाले निर्माण अनुमती पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) लाई निर्माण अुनमती दिइएको हो ।’पूर्वाधार संरचनाको निर्माण तथा संचालनकालागि निजी लगानी सम्वन्धि नेपाल सरकारको ऐन अनुसार जेठ ६ गतेको मन्त्रीस्तरिय निर्णयले परियोजना संचालन गर्ने अनुमती दिएको छ,’ मन्त्रालयद्धारा जारी अनुमती पत्रमा लेखिएको छ ।गत जेठमा सरकारसँग प्रारम्भीक परियोजना सम्झौता गरेको एनपीबीसीएलले माघ २६ गते शिलान्यास गर्ने घोषणा गरेको थियो । तर, मन्त्रालयको प्राविधिक टोलीले त्यसताका बुझाइएको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा आर्थिक र रेखाकंन लगायतका विषय कमजोर रहेको जनाउदै अनुमती नदिएपछी कम्पनीले माघ २६ गते कुलेखानीको जलाशायदेखी करिब ५ सय मिटर पूर्वमा साइत पूजा गरेको थियो । तोकिएको समयभन्दा तीन महिना ढिलो निर्माण अनुमती पाएको एनपीबीसीएलका अध्यक्ष कुशकुमार जोशीले अबको एक महिनाभित्र बाटो खन्न थाल्ने बताए । ‘धार्मिक पूजा भैसकेकोछ अबको एकमहिनाभित्र निर्माण थाल्छौ,’ उनले मंगलबार आयोजित एक कार्यक्रममा भने ।मन्त्रालयका सचिव तुलक्षी सिटौलाका अनुसार, परियोजनाले एक वर्षभित्र पुरा लगानीको ग्यारेन्टीपत्र मन्त्रालयलाई बुझाउदै परियोजना लगातको ० दशमलव ५ प्रतिशत रकम अर्थात १७ करोड रुपैया मन्त्रालयको खातामा जम्मा गर्नुपर्नेछ । ‘यदि एनपीबीसीएलले लगानी ग्यारेन्टीको पत्र र १७ करोड रुपैया जम्मा नगरे सम्झौता खारेज हुनेछ,’ सचिव सिटौलाले भने ।उनका अनुसार, सरकारले यस परियोजनामा जग्गा किन्ने, मुअब्जा दिने लगायतमा आर्थिक सहायता दिने छैन । ‘निर्माण सामाग्रीमा आवश्यकता अनुसार भन्सार छुट दिन सकिने सहमती भएकोछ,’ सिटौलाले भने । २०६८ भदौमा कम्पनी ऐन अनुसार, दर्ता भएको एनपीबीसीएलले सडक निर्माणका लागि सेयरधनीमार्फत लगानी जुटाउने भनेको छ । कम्पनीले परियोजनामा समेटीने २६ वटा गाविसका स्थानियसहित, विभिन्न संघ/संस्थालाई सेयर आव्हान गर्ने छ ।यसरी जुटाइएको स्रोतबाट निर्माण भएको सुरूङमार्गले १८ वर्षभित्र लगानी उठाई त्यसपछी मुनाफा गर्ने भनिएको छ । यस परियोजनाको लगानी उठाउने मुख्य स्रोत सडकमा गुड्ने सवारीबाट उठाइने शुल्क हुने छ । सरकारको रोहबरमा उठाइने शुल्कको दर हरेक वर्ष एकनास हुने छैन । विस्तृत अध्ययन प्रतिवेदनले मोटरसाइकलबाट १ सय ६० र ठुलो लरी ट्रकबाट ३ हजारसम्म उठाउने प्रस्ताव गरेको छ ।
त्यसैगरी निजगढ जोड्ने द्रुतमार्ग परियोजनाको सहमती बिना यस परियोजनाले रेखांकन जुधाउन पाउने छैन । यी दुई फरक आयोजना हुन । सरकारले दु्रतमार्गमा मुअब्जा र निर्माणमा मात्र करिब २ अर्ब रुपैया लगानी गरीसकेको छ । उक्त सडक बुट -निर्माण, स्वामित्व, संचालन र हस्तान्तरण) अवधारणामा निर्माणकालागी तीन भारतीय कम्पनी इच्छुक देखीएका थिए । एक महिनाभित्र ती कम्पनीहरुले आरएफपी बुझाइसक्नुपर्नेछ ।राजधानीको बल्खु हुदै हेटौडासम्मको कुल दुरी करिब ५८ किलोमिटर दुरी हुने सुरुङमार्ग भनिएको सडकमा करिब साढे ३ किलोमिटर सुरूङ भित्र हुनेछ । बाँकि ५५ किलोमिटर खुल्ला सडक हुनेछ । एनपीबीसीएलले मन्त्रालयलाई बुझाएको डिपिआरले सडकको निर्माण अवधि ४४ महिना हुने भनेको छ । करिब चार वर्षको निर्माण अवधिपछी सुरूङमार्ग संचालनमा आउनेछ । राजधानी प्रवेश गर्ने र निस्कने वैकल्पीक मार्गका रुपमा हेरीएको यो सडकमार्फत गरिने हेटौडा देखी काठमाडौंको यात्रा १ घन्टाको हुने भनिएको छ । सहमतीपत्रमा उल्लेख भएअनुसार, बूट -निर्माण, स्वामित्व, संचालन र हस्तान्तरण) अवधारणामा निर्माण गरिने सुरूङमार्ग ३० वर्षपछी अर्थात विक्रम संवत ३००० जेठ ६ गते नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार