जनजाति महासङ्घको अध्यक्षमा नगेन्द्र कुमाल

२०७० बैशाख ३१ गते, मंगलवार


काठमाडौ , नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित भएका छन ।
गएराति भएको नयाँ नेतृत्वको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी चन्द्रविक्रम राईलाई पराजित गर्दै कुमाल महासङ्घको अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचनमा खसेको ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाएका थिए । महासङ्घमा आवद्ध जातीय संस्थाहरूबाट एक एकजनाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । अध्यक्ष पदका अर्का प्रत्यासी नरेश ताम्राकारको पक्षमा तीन मत मात्रै परेको थियो । नवनिर्वाचित अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफ्नो नेतृत्वका कार्यसमिति खरो रूपमा उत्रने बताए छ । उनले जातीय पहिचानसहितको सङ्घीयताका लागि दबाबमूलक अभियानहरू सन्चालन गर्ने पनि बताए ।
यसैगरी १३ सदस्यीय सचिवालयको महासचिवमा २२ मत प्राप्त गर्दै पेम्बा भोटे निर्वाचित भएका छन । महासचिवमा ६ जनाको उम्मेद्वारी परेको थियो । पाँचजना उपाध्यक्षहरुमा रोश्नी मेचे (महिला), डन्डु शेर्पा (हिमाल), सूर्यबहादुुर माझी (पहाड), चिनीलाल माझी (भित्री तराई), रामअवतार मण्डल (तराई) विजयी भएका छन । पाँचजना सचिवहरूमा यशोधा चौधरी (महिला), गणेशलाल थकाली (हिमाल), यमबहादुर चेपाङ (पहाड), चिनीमाया माझी (भित्री मधेस), ध्यानी उँराव (तराई) निर्वाचित भएका छन । कोषाध्यक्षमा जगतबहादुर बराम निर्वाचित भएका छन ।
यसैबीच ३० बुँदे सौरहा घोषणापत्र जारी गर्दै जनजाति महासङ्घको आठौं महाधिवेशन गएराति नै सकिएको छ । जारी घोषणापत्रमा पहिचानसहितको सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीतालगायतका सवाललाई संस्थागत गर्न विघटित संविधानसभा ३ महिनाका लागि पुनस्र्थापना गरी जनताका संविधान जारी गरिनुपर्ने, विघटित संविधानसभा पुनस्र्थापनामा सहमति नहुने भए संविधानसभाबाट नै पहिचानसहितको सङ्घीय संविधान जारी गर्न समानुपातिकतर्फको सिट सङ्ख्यामा कटौती नगरी र दलले प्राप्त गर्ने मतमा सीमा (थ्रेसहोल्ड) नतोकी आगामी मङ्सिरभित्रै संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गरियोस् । यसका लागि तत्काल सर्वपक्षीय सहमतिको आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्नेलगायत बुँदाहरू उल्लेख छन् ।

प्रतिक्रियाहरु