एमालेको प्रतिनिधि परिषद्को बैठक साउन ४ र ५ गते

२०७० बैशाख २८ गते, शनिबार


काठमाडौं । आगामी साउन ४ गते नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलएको छ । पार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधान संशोधन गर्ने र संविधानसभा निर्वाचनसंग सम्बन्धित बिषयहरुमा आवश्यक निर्णय गर्ने साउन ४ र ५ गते राष्ट्रिय प्रतिनिधि परिषद् बैठक काठमाडौंमा गर्ने निर्णय गरेको हो ।बैठकले संविधानसभा ‘निर्वाचनका लागि पार्टी परिचालन अभियान- २०७०’ सम्बन्धी कार्ययोजना पारित गरी जेठ ३ मा शुरु गरेर एक महिनासम्म अभियान चलाउने निर्णय गरेको सचिव विष्णु पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सुझाव सहित पारित गरेको छ ।एमालेले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी बनाउन आवश्यक सहजीकरणका लागि मोर्चा सङ्गठनका प्रमुख शङ्कर पोखरेलको संयोजकत्वमा विष्णु रिमाल, भानुभक्त ढकाल, घनश्याम भुसाल र योगेश भट्टराई रहनुभएको कार्यदल गठन गरेको छ । बैठकले जनकपुरको आन्तरिक पार्टी जीवनमा उत्पन्न समस्या अविलम्ब समाधान गर्न स्थायी कमिटीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु