दुःखले समाजसेवी बनायो – समाजसेवी, रामकुमार लिङदेन

२०७१ चैत्र २७ गते, शुक्रबार

तपाई ब्रिटिस सेनामा भर्ति किन हुनुभयो ?
पहिलो कुरा त गरिबीले बाध्य बनायो । दोस्रो कुरा गाउँका लाहुरेको लवाई र खवाईले पनि प्रभाव पार्यो ।
कति गरो थियो त्यति वेला वेलायति सेनामा भर्ति हुन ?
अहिले जस्तो त्यतिवेला शिक्षाको मापदण्ड थिएन । तर, गाउँगाउँमा क्षेत्र छुट्याएर गल्लावाल (एजेन्ट) खटाइएको हुन्थे । एक त उनीहरुलाई भेट्न नै मुस्किल । बल्लबल्ल त्यो गल्लावाललाई भेटियो । उसलाई एक बोतल रक्सि खुवाएर रिजाइयो । उसले आफ्नो घरमा बोलायो । एक दिनभर हिडेपछि उसको घर पुगियो । म सहित ११ जना पाँच दिन हिडेर धरान आयौँ । उसले उतैबाट आएका मानिसहरुको जिम्मा लगायो ।
हाम्रो स्वास्थ्य परिक्षण गरियो । केही साथीहरु फेल भए तर म पास भए । एक हप्ताजति त्यही बसियो । त्यतिबेला हाम्रो देशमा अन्तरराष्ट्रिय विमानस्थल नभएकाले हामीलाई धरानबाट जोगबनी हुँदै रेलमा भारतको कलकत्ता पुर्याइयो । त्यहाँबाट विमानबाट मलायाको कोलालाम्पुर लाग्यौँ । त्यहाँ पुगेपछि सैनिक तालिम लिनु पर्यो ।
अनि लडाईमा कहिले जानुभयो ?
सन् १९६३ मा मलाय (मलेसिया) र इन्डिोनेसियाको लडाई चलिरहेको थियो । हामीलाई छिटोछिटो तालिम दिएर लडाईमा पठायो । सबैलाई बन्दुक सोझो गरेर हान्न सक्ने भएपछि लडाईमा पठाइहाल्थ्यो । हाम्रो टीमलाई पनि ६ महिनाको तालिमपछि लडाईमा पठाइहाल्यो । हामी मलायको पक्षबाट लडेका थियौँ । लडाईको क्रममा केही साथीहरुको ज्यान पनि गयो ।
एकवर्षमा ६ महिना लडाईमा र ६ महिना पिस लोकेशनमा राख्ने नियम थियो । म भएको पल्टनलाई ६ महिनापछि पिस लोकेशन (हङ्कङ) पठायो । त्यसैगरि तिनपटक लडाईमा गइयो । त्यसपछि घर विदामा आएँ ।
कसले जित्यो त्यो लडाई ?
कसैको हार जित भएन । ब्रिटिसले कुटनैतिक पहल गर्दा दुवैपक्षबीच सहमति भयो । हामीलाई त्यहाँबाट हङ्कङ पठायो ।
लडाई सकिएपछि तपाई कहाँ जानुभयो ?
लडाई सकिएपछि बिस्तारै कसैलाई विदाई, कसैलाई घर विदा र कसैलाई ब्रिटिस जाने मिलाएको थियो । बेलायत जानेमा मेरो पल्टन पनि पर्यो । घर विदा सहित चार वर्ष ब्रिटिस आर्मीमा बिताए ।
वेलायतमा के काम गर्नुभयो ?
हामीलाई त्यहाँ पब्लिक डिउटीमा खटाइएको थियो । रानी एलिजाबेथको दरबार (राजतसंस्था) को सुरक्षामा हामीलाई खटाइएको थियो ।
लडाईबाट बचेर राजदरवारको सुरक्षामा खटिँदा कस्तो अनुभूति हुन्थ्यो ?
दुई खाले अनुभूति हुन्थ्यो । कुनै बेला निकै गर्भ लाग्थ्यो । विदेशी र स्वादेशीहरु हेर्न आउँथे । बेलायती नागरिकलाई अनुमति नभएको ठाउँमा हामी जान्थ्यौँ । हामीले डिउटी चेन्ज गर्ने बेला टाढाबाट मानिसहरुले फोटो खिचिरहेका हुन्थे । त्यतिबेला आफू नै राजा हुँ जस्तो लाग्थ्यो ।
अर्को कुरा दुई घण्टाको डिउटी हुन्थ्यो । सारै कडा । हलचल गर्न नै नपाइने । मुर्तीजस्तै उभिनु पर्ने । त्यतिवेला टोपी र बुटले खान्थ्यो । कोहीकोही न बेहोस् भएर ढल्थे । पुलिसहरु हामीलाई चेक गर्न आउथ्यो । उनीहरु घुमिरहने । कति बेला छोडेर घर गइजाउँ जस्तो लाग्यो ।
घर कहिले फर्किनु भयो ?
सन् १९८१ (वि.सं.२०३८) म रिटार्य भएर नेपाल आएँ । जागिरबाटै झापा केही जमिन लगेको थिएँ । त्यही गएर पारिवारिक व्यवस्थापनमा लागे ।
पेन्सन भइसकेपछि फेरी बु्रनाई किन जानुभयो ?
पल्टनबाट कमाएको पैसा झापाको बिर्तामोडमा एउटा घर र एक विगाह जमिन लिएपछि सकियो । तिन जना नानीबाबु थिएँ । उनीहरुलाई पढाउने परकै कुरा, साझ विहान निर्वाह चलाउन नै धौधौ भएपछि जागिरको खोजीतिर लागे । अहिलेको जस्तो सूचना संचार थिएन । गल्फ कन्ट्री र बु्रनाइमा पत्र लेखेर पठाए । पत्रहरु ओहरदोहर हुँदै जादा बु्रनाईमा काम मिल्यो ।
त्यहाँ गएर के काम गर्नुभयो ?
ब्रुनाईमा रिटार्य आर्मीलाई ‘होम गार्ड’को रुपमा राख्ने गरिन्थ्यो । सरकारी र गैरसरकारी संस्थाहरुको सुरक्षा खटाउथ्यो । मलाई कान्छो सरकार (ब्रुनाई राजको कान्छो छोरा) को होम गार्ड को रुपमा काममा लगायो । चलाख र दायाँबायाँ नगर्ने इमान्दार, हार्डवर्क गर्न सक्ने र गोराहरुसँग टक्टर गर्न सक्ने उनीहरुले खोजेका रहेछन् ।
कान्छो सरकारको बाउँले नेपालीहरु इमान्दार हुन्छन् र उनीहरुको विश्वास गर्नुपर्छ भनेको रहेछन् । कान्छो सरकारको रोजाईमा म परे । आफ्नो बाबुले भनेकोले होला मलाई निकै विश्वास गरे । भित्री कामहरु सबै मैले नै गर्थे । त्यसै सिलसिलामा मलाई वेलायत पनि पठाए । त्यहाँ गएर पनि अरुलाई खटाउनेदेखि सबै कामहरु मैले नै गर्थे । कान्छो सरकार कहीलेकही मात्र आउथे । फेरी बु्रनाई आएँ । कहिले कही विदेश भ्रमणको बेला पनि मलाई पनि सँगै लिएर जान्थे ।
तपाईले अरु नेपालीलाई दरवारको काममा कसरी लगाउँनुभयो ?
दरवारको सरसफाईदेखि सबै काममा मैले नै खटाउने गर्थे । धेरै मानिसहरु हुन्थे । सामान्य काम पनि गरेरे राम्रो कमाई गरेका थिए । मैले सोचो यस्तो काम त हाम्रा दाजुभाईले पनि गर्न सक्थे । उनीहरुलाई पनि बोउन पाएको भए राम्रो हुने थियो भन्ने लाग्यो । कान्छो सरकारसँगै नेपालीलाई बोलाउने अनुरोध गर्छु भन्ने सोचँे । केही दिनसम्म त भनौ कि नभनौँ भन्नेमा समय गयो । मनमनै डर पनि लागिरहेको थियो । जे परे पर्ला भनेर एक दिन भने, ‘मेरा दाजुभाई गरिव छन्, उनीहरु यस्तो काम गर्न सक्छन्, काम दिनुपर्यो सरकार ।’ उनले सजिलै ओके भने । मलाई खुशी लाग्यो ।
त्यतिवेला म घर विदामा आउँदै थिएँ । डेड महिनापछि फर्केर जाने बेला दुई जना गाउँलेलाई सँगै लिएर गएँ । उनीहरुको कामप्रति पनि दरवार खुशी नै भयो । उनीहरुलाई काम खटाउने त म नै हुँ ।
पहिलै पटक मेरो वचनलाई सजिलै मानेकाले मेरो आत्मविश्वास पनि बढ्दै गए । मैले पछि पनि दुःख पाएका धेरै नेपालीलाई लिएर त्यहाँ काममा लगाए । अहिले उनीहरुको राम्रो छ ।
कति जना नेपाली लिनु भएको थियो ?
करिब करिब त्यस्तै तिन सय नेपालीलाई मैले त्यहाँ लिएर काम लगाए ।
तपाईले ब्रुनाई दरवारमा कति वर्ष काम गर्नुभयो ?
मैले आउँदा जादा गरि १५ वर्ष जागिर खाएँ । कान्छो सरकारले अझै बस् भन्दै थिए । तर, म आइहाले ।
राजदरवारको जागिर किन छोड्नुभयो ?
छोराछोरीलाई पढाउँने र केही आर्थिक अवस्था कमजोर हुँदै गर्दा म त्यहाँ गएको थिए । छोराछोरीले पनि पढिँसके । आर्थिक अवस्था पनि सवल भयो । अब कति अरुको देशमा बसिरहने । आफ्नै देशमा जान्छ भन्ने सोचेँ ।
अलि विरामी पनि थिए त्यतिवेला । कान्छो सरकारले यतै बस भन्दै थिए । तर, मैले मानेन् । मैले तिनपटकसम्म निवेदन दिएर बल्ल विदाई भएर नेपाल फर्र्किए ।
नेपाल आएपछि फेरी तपाई समाज सेवामा लाग्नुभायो किन ?
मेरो मान्यता भनेको सत्य, दया र कोशिस हो । सत्य बोल्ने र सत्यको बाटोमा हिड्ने, दुःख परेकालाई दया अथाव सयहयोग गर्ने र आफ्नो यात्राबाट विचलित नहुँने असफल हुँदापनि कोशिस जारी राख्ने मेरो मान्यता हो । मैले कसैलाई केही सहयोग गर्दा राहत हुन्छ भने सहयोग गर्नुपर्छ जस्तो लाग्छ ।
नेपालमा कस्तो कस्तो क्षत्रेमा सहयोग गर्नुभएको छ ?
म जाहाँ रहँदा पनि दुःख पाएकालाई सहयोग गर्दै आएको छु । तिनसय नेपालीलाई ब्रुनाई लगे, उनीहरुको अहिले राम्रो छ । आफ्नै दाईभाई र समाजमा जसलाई दुःख परेको देख्छु उसलाई आफ्नो क्षमता अनुसार केही न केही सयोग गर्दै आएको छु ।
हाम्रै गाउँमा घर–जग्गा कृषी विकास बैँकमा राखेर ऋण लिएका रहेछन् । उनीहरुले ऋण चुक्ता गर्न नसक्दा बैँकले घरजग्गा लिलाम गर्नै लाग्यो । मैले थाहा पाए । पाँच जनाको गुम्न लागेको घर जग्गा बचाई दिए ।
विभिन्न मठ–मन्दिरलाई सहयोग गरेको छु । काठमाडौँदेखि झापा, पाचथर लगायतका जिल्लमा रहेका साना ठूला मन्दिरलाई पनि सहयोग गरेको छु ।
खेलकुद क्षेत्रमा पनि गरेको छु । पाथिभरा देवीको नाममा सिंगापुरबाट ट्रफि किनेर ल्याइयो । दुई लाखको अक्षय कोष बनाइदिए । त्यसको व्याजबाट भलिबल विजेतालाई दिइन्छ । त्यसैगरि आठराई भगवती पनि एउटा ट्रफि बनाएको छु । पाँचथरको फिदिममा लिङदेन ट्रस्ट बनाइदिएको छु । त्यहाँ ६ लाख दिए । अरु मैले आफै दिएको हुँ भने यो ट्रस्ट लिङदेन समुदायको माग अनुसार गरिएको हो ।
बाढि पहिरो पीडित, दुःखी विरामी, अपाङ्ग, टुहुरालाई मेरो गोजीबाट जति आयो उति निकाले दिदै आएको छु । कसैले मागेर खाएको, हुड्न नसकेको, विरामी भएर उपचार गर्न नसकेको, पैसा नभएर पढ्न नपाएको देखँे भने मेरो मन दुख्छ ।
समाज सेवामा लाग्ने प्रेरणा कसबाट पाउँनुभयो ?
मलाई कसैले सिकाएको पनि होइन । कसैको देखेरपनि होइन । आफूले पाएको दुःखले मलाई समाजसेवामा लाग्ने प्रेरणा भनौँ वा सिकायो । मलाई अरुलाई सहयोग गर्न लगाउने मैले भोगेको दुःख ले नै हो ।
आफूलाई कुनै कुराको अभाव भएको महशुस हुन्छ ?
व्यक्तिगत रुपमा केही हुँदैन । म परिवाट निकै खुशी छु । हामी बुढाबुढी छौँ । मेरा दुई छोरा र एक छोरी हुन् । जेठो छोरा एमडि डक्टर हो । झापामा कार्यरत छ । छोरी पाइलट र कान्छो छोरा इन्जिनियर उ अमेरिकामा छ । उसले पनि ग्रिन कार्ड पाएको छ ।
दोस्रो कुरा मलाई केही अभाव भएको महशुस हुन्छ । सबै नेपाली दाजुभाईले दुःखबाट मुक्त हुनपाएको भए जस्तो लाग्छ । कसैले पनि अभाव र डरको जीवन बिताउनु नरोस् ।
केही भन्नु छ ?
मेरो एउटै मात्र भन्नु छ । त्यो के भने सबैले समयलाई पछ्याउनु पर्छ । समयलाई बुझ्न नसक्दा धोका पाइन्छ भन्ने कुरा सबैलाई भन्नु चाहन्छु । नेताले समयलाई नबुझ्दा देश र जनताले धोका पाउँछ र हामी नागरिकले समयलाई पछ्उँन वा बुझ्न नसक्दा जीवनमा ठूलो धोका पाइन्छ । देशको शासन प्रशासन राम्रो होस् । – प्रस्तुतीः दिपेन्द्र रावल

प्रतिक्रियाहरु