८ वर्षीय बच्चाको बार्षिक कमाई झण्डै ३ अर्ब !

२०७६ पुष ६ गते, आईतवार

काठमाडौं ,६ पुष । अमेरिकाका ८ वर्षीय बालक रेयान काजीले एक वर्षमा २.६ करोड डलर (करिव २ अर्ब ९६ कराेडभन्दा बढी रुपैयाँ) कमाएका छन् । रेयान एउटा युट्युबर हुन्, उनले युट्युबमा खेलौनाको समीक्षा गर्छन् र रेयन वर्ल्ड नामक युट्युबमा अपलाेड गर्छन् । यसै युट्युब च्यानलबाट उनले २०१९ मा २.६ करोड डलर कमाएका हुन् । फोर्ब्स म्यागजीनले युट्युबबाट सर्वाधिक रकम कमाउने उत्कृष्ट १० जनाको सूचीमा सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार रेयान काजी पहिलो नम्बरमा परेका छन् । गत वर्ष पनि रेयानै सर्वाधिक पैसा कमाउने युट्युबर बनेका थिए । सन् २०१८ मा उनले २.२ करोड डलर कमाएका थिए ।
उनीपछि बढी रकम कमाउनेमा ड्यूड पर्फेक्ट दोस्रो स्थानमा र नास्ट्या तेस्रो स्थानमा आएका छन् । उनीहरूले क्रमश: दुई करोड र एक करोड ८० लाख अमेरिकी डलर कमाएका छन् ।
रेयान आफ्ना आमा, बुवा र जुम्ल्याहा दिदीबहिनीहरूसँग अमेरिकाको टेक्ससमा बस्दै आएका छन् । उनले युट्युबमा खेलौनाको समीक्षा गर्छन् र दिनहुँजसो युट्युबमा भिडियो हाल्ने गर्छन् । उनले सन् २०१५ बाट रेयान वर्ल्ड नामक युट्युब च्यानल सुरु गरेका थिए । हालसम्म उनलाई च्यानल दुई करोड जनाभन्दा बढी प्रयोगकर्ताले सब्स्क्राइब गरिसकेका छन् र उनको च्यानलका भिडियो २६ अर्बभन्दा बढी पटक हेरिएका छन् । दशौँ लाख मानिसले उनका भिडियो प्रत्येक दिन हेर्ने गर्छन् । केही भिडियो त एक अरबभन्दा बढी पटक हेरिएको छ । उनको भिडियोहरु मनोरञ्जनात्मक र रमाइला हुन्छन् । उनको सबैभन्दा धेरैले रुचाएको भिडियाेलाई १ अर्ब ९० करोड जनाले हेरिसकेका छन् । पाँच मिनेट लामो त्यो भिडियाेमा उनी बगैँचामा दौडिरहेको र त्यहाँ भित्र खेलौना भएका प्लास्टिकका अण्डाहरू खोजिरहेको देखिन्छ ।
रेयानकी आमाले अमेरिकी अखबार वासिङ्टन पोस्टलाई दिएको अन्तर्वार्ताअनुसार रेयान सानै उमेरदेखि खेलौनाका सौखिन थिए । उनी टिभी र युट्युबमा आउने रिभ्यु हेर्थे । तीन वर्षदेखि नै यस्ता कुरामा रेयानको लगाव भएको पनि उनले बताएकी छिन् । उनकी आमाका अनुसार एक दिन रेयानले सोधे, ‘अरु बच्चाजस्तै म युट्युबमा किन छैन ?’ त्यसपछि बच्चाका लागि युट्युब च्यानल चलाउने सोच आएको उनले बताइन् । ‘हामी खेलौनाको पसलमा गयौं, एउटा लिगो ट्रेन खरीद गर्‍यौं र त्यसैबाट शुरुवात भयो,’ उनले साे अन्तर्वार्तामा बताएकी थिइन् ।
सामाजिक सञ्जालमा भिडियो स्ट्रिमिङ साइटका रूपमा युट्युबको अलग्गै किसिमको क्रेज छ । युट्युब आफूलाई सेलिब्रेटी बनाउन र राम्रो आम्दानी गर्न सकिने प्लेटफर्म नै बनेको छ भन्दा पनि फरक नपर्ला । युट्युबकाे माध्यमबाट कमाइ गर्ने नेपालीहरूको सूची दिन–प्रतिदिन बढ्दो छ । कुनै समय साहित्यलाई सोखका रुपमा लिइन्थ्यो । तर अहिले युट्युबर बन्ने, भ्लक बनाउने धेरैकाे सोखका रुपमा आएको पाइन्छ । तर, युट्युबले भने नेपाली भू–भागलाई महत्व दिएकै देखिँदैन । युट्युबले अहिलेसम्म नेपालमा कार्यालयसमेत खालेको छैन । सिंगापुरमा रहेको युट्युबको कार्यालयले नेपाललाई हेर्दै आएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु