स्वाइनफ्लुवाट बच्ने उपाय

२०७१ फाल्गुन १३ गते, बुधबार

काठमाडौ, १३ फागुन। तपाईंका आफन्त, साथीभाइ र छरछिमेकीलाई रुघाखोकी लागेको छ भने स्वाइन फ्लुको संक्रमणबाट जोगिन दुईचार दिन उनीहरूभन्दा एक मिटर परै बस्नुहोस्। उनीहरूको स पर्कमा जानैपरे ‘सर्जिकल मास्क’ लगाएरमात्र जानु बेस हुन्छ। रुघाखोकीसँगै ज्वरो आउन थाले, घाँटी दुख्न थाले, सास फेर्न कठिन भए वा पखाला लाग्न थाले बिरामीलाई तत्कालै अस्पताल पुर्‍याउनुपर्छ।
बिरामीले प्रयोग गरेका रुमाल वा अन्य व्यक्तिगत सामग्री प्रयोग गरे संक्रमण फैलिने ठूलो खतरा हुन्छ। परीक्षण नगरी स्वाइन फ्लु पुष्टि नहुने भएकाले बिरामीका निकट वा परिवारका सदस्यले उच्च सतर्कता अपनाउनुपर्छ।
चिकित्सकले पूर्वसजगता नै स्वाइन फ्लु संक्रमणबाट जोगिने महत्त्वपूर्ण उपाय भएको भन्दै यस्ता ससाना विषयमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.गीता शाक्यले स्वाइन फ्लुबाट जोखिन कम खर्चमा प्रभावकारी उपाय अपनाउन सकिने बताइन्।
‘कुनै कारणले स्वस्थ मानिसमा रुघाखोकी लागेमा एकदेखि दुई दिनसम्म घरमै आराम गराई सामान्य ‘सिटामोल’ दिई पर्याप्त मात्रामा झोलिलो खाना खुवानुपर्छ’, उनले भनिन्, ‘घरमा आराम गरेको दुईतीन दिनभित्रमा पनि निको नभएमा सम्बन्धित चिकित्सकलाई भेटिहाल्नुपर्छ।’
‘मुटुरोग, क्यान्सर, मधुमेह, दम, मिर्गौला, नसालगायत (क्रोनिक डिजिज) का बिरामी, बालबालिका, वृद्धवृद्धा र गर्भवतीलाई रुघाखोकी लाग्यो भने तत्कालै स्वास्थ्य परीक्षण गराउनुपर्छ’, शाक्यले भनिन्, ‘उपचार ढिलो भए स्वाइन फ्लुबाट उनीहरूको ज्यानै जान सक्छ।’
सामान्य मानिसले पनि हाच्छ्युँ गर्दा रुमाल वा हातले छोपेर गर्ने र तत्काल हात धोएमा सम्भावित जोखिम कम हुने उनले बताइन्। ‘चिन्ता सबैले लिनुपर्ने अवस्था आएको छ। मलाई केही भएको छैन भन्दै रुघाखोकी लागेका बिरामीको नजिक जानु हुन्न’, शाक्यले भनिन्, ‘भीडभाडबाट बच्नु सबैभन्दा राम्रो हो।’
विद्यालय वा क्याम्पस जाँदा, स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा, सार्वजनिक बस चढ्दा, विभिन्न कार्यक्रममा भेला हुँदा, मन्दिर जाँदासमेत मास्क अनिवार्य प्रयोग गर्न चिकित्सकले सुझाएका छन्। माहामारी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बाबुराम मरासिनीले छिट्टै र एकैपटक धेरै मानिसमा सर्ने स्वाइन फ्लुबाट बच्न सामान्य उपाय अपनाए पर्याप्त हुने बताए।
‘लक्षण देखिएका बिरामीको रोग निदान सजिलो र स्वदेशमै सम्भव भएकाले आत्तिनुपर्ने अवस्था छैन’, मरासिनीले भने, ‘व्यक्ति आफैं सजग भए पुग्छ।’ फ्लुको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोटेश्वरस्थित वरुण ल्याबमा भइरहेको शाक्यले बताइन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु