सूदखोर वित्तीय संस्थाहरू कारबाहीको निशानामा !

२०७७ असार १८ गते, बिहीबार

काठमाडौँ , १८ असार । नेपाल कम्युनिस्ट पार्टीले बैङ्क र केही सूदखोर वित्तीय संस्थाहरूले जबर्जस्ती ब्याज र समूहको ऋण असुल गरेको भन्दै आक्रोश व्यक्त गरेको छ। सो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले लकडाउन अवधिभर कुनै पनि बैङ्क वा वित्तीय संस्थाहरूले ब्याज लिने वा लगानी असुल नगर्नू र नगराउनु भन्ने सर्वाेच्च अदालतको आदेशविपरीत बैङ्क र केही सूदखोर वित्तीय संस्थाहरूले जबर्जस्ती ब्याज र समूहको ऋण असुल गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बन्दका कारण उद्योग, व्यापार, व्यवसायीहरूले कुनै उत्पादनका काम गर्न नपाएको बेला सूदखोरहरूले जनता र व्यवसायीलाई सङ्कटमा झन् सङ्कट पैदा गरेको पाइएको भन्दै नेता निर्माणले दलाल पुँजीपतिहरूलाई जनताको जीवनभन्दा नाफा मात्रै नहेर्न आग्रह गरेका छन् । उनले पुँजीवादी एजेन्टका रूपमा गाउँगाउँमा पसेका लघु वित्त माइक्रो फाइनान्सहरूले चर्को ब्याजमा जनतालाई लुट्ने काम गरिरहेको भन्दै त्यस्तो कार्यको निन्दा पनि गरेका छन् ।
सेम ब्युरो इन्चार्ज निर्माणले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साना व्यापारी, उद्योगी, किसान र डेरा गरी बस्नेहरूको समस्याप्रति सरकार उदासीन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिक बनका नाममा हुने बन विनास रोक्नुपर्ने तर कटान भैसकेको काठलाई खेर जान नदिन सङ्कलन र वितरण गर्न दिनुपर्ने भन्दै निर्माणले कथित समाजवादको नक्कली जामा भिरेको सरकारले शिक्षाका नाममा झन् चर्को व्यापारीकरण गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । जनता कोरोना महामारीले कष्टकर जीवन बिताइरहेको बेला सरकार भ्रष्टाचारमा डुबेको भन्दै नेता निर्माणले विज्ञप्तिमा भनेका छन, ‘अहिले असारे विकासका नाममा सात नम्बर प्रदेश सरकार र स्थानीय तहमा भैरहेको भ्रष्टाचार, अनियमितता र कमिसनको खेलप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसमा पनि बजेट परिचालन गर्ने भौतिक योजना मन्त्रालयमा भएको करोडौँ कमिसनको खेल नाङ्गो रूपमा बाहिर आएको छ । त्यस्तै कोरोना व्यवस्थापनका नाममा पनि करोडौँ खर्च भएको देखाउने तर क्वारेन्टाइन व्यवस्थापनमा लापरबाही गर्ने गरेको पनि पाइएको छ । अझ त्यसमा पनि क्वारेन्टाइन कोरोना फैलाउने केन्द्रका रूपमा प्रयोग भएको पाइएको छ । यसलाई सही व्यवस्थापन नगरेमा, भ्रष्टाचार नरोकेमा र जनताको विकासलाई पारदर्शी नगरेमा सम्बन्धित भ्रष्टाचारका केन्द्रमा पार्टीले कारबाही केन्द्रित गर्नेछ ।’
कोरोना आतङ्क र लकडाउनको समयमा पनि सरकारलेसामान्य मानवीय संवेदनशीलतालाई समेत ध्यान नदिई आफ्नो पार्टीका नेता–कार्यकर्तालाई धरपकड गरिरहेको भन्दै निर्माणले विज्ञप्तिमार्फत राष प्रकट गरेका छन् । केही दिनअघि सहिद सनराइजको स्मृतिमा सहभागी भएको समयमा गिरफ्तार गरिएका नेकपा कैलालीका जिल्ला नेताहरू दलबहादुर विक, प्रकाश रावल, बबरजङ्ग सिंहलगायत ६ जना र बाजुरा जिल्ला इन्चार्ज एन्डिजलगायत कैलालीमा गिरफ्तार गरिएकाहरूलाई तत्काल बिनासर्त रिहा गर्न उनले माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार