सालक गणना सकियो, तथ्यांक असार १५ मा सार्वजानिक हुने

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेठ । सालकको गणना सम्पन्न भएको छ । दुर्लभ स्तनधारी जनावरको संरक्षण गर्ने उद्देश्यले चितवन, गोरखा र मकवानपुरका १६ वटा समुदायिक वनमा सालक गणना गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७४ फागुन ९ गतेदेखि सालकको गणना शुरु गरेको थियो । चितवनका ५, गोरखाका ४ र मकवानपुरका ७ वटा सामुदायिक वनमा सालकको गणना गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टरार्ईले लजालु स्वभाव रहेको जनावर सालकको अवस्था पत्ता लगाई संरक्षण क्षेत्र बनाउने उद्देश्यले सालकको गणना गरिएको बताए । चितवनको कंकाली सामुदायिक वनबाट शुरु गरिएको गणना सकिएको भए पनि तथ्यांक संकलन असार १५ सम्ममा सार्वजानिक गर्ने तयारी रहेको छ ।
विश्वमा ८ वटा प्रजातिका सालक रहेका छन् । नेपालमा कालो र तामे सालक मात्रै पाइएको तथ्यांक छ । सालक संरक्षण अभियानमा सबै सरोकारवालाको सहयोग आवश्यक रहने छ । गणनापश्चात सालकको संरक्षणमा थप सहयोग पुग्ने बताइएको छ । समुन्द्री सतहदेखि ६०० मिटरदेखि १ हजार ५०० मिटर उचाइसम्म सालक पाइन्छ । यसको संरक्षण आवश्यक रहेको र संकलन गर्नु अपरिहार्य रहेको बताइएकोे छ । हरेक वन क्षेत्रमा क्यामेरा जडान गरी एक हप्ताको समय लगाएर सालक गणना गरिएको हो । क्यामेरा ट्रापिङ विधिबाट अध्ययन भएको र हरेक वनमा प्राविधिकसहित १० जनाको टोली खटिएको थियो ।
स्तनधारी जनावर सालकको मासु र खपटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखेको छ । ऐनको दफा, २६ को उपदफा, २ मा सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० हजारदेखि ७५ हजार जरिवाना तथा एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रियाहरु