सार्कका प्रमुखहरु धुलिखेलमा

२०७१ मंसिर ११ गते, बिहीबार

काठमाडौं। सार्क शिखर सम्मेलनमा सहभागी सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु आज बिहान रिट्रिटका लागि धुलिखेल जाँदैछन्। विशिष्‍ट पाहुनाहरुको सवारीको लागि सोल्‍टी होटेलदेखि त्रिभुवन अन्‍तराष्‍ट्रिय विमानस्थलसम्‍म सुरक्षा व्‍यवस्था अत्‍यन्तै कडा पारिएको छ। विमानस्थलबाट सेनाको हेलिकोप्‍टरमा राष्ट्र तथा सरकार प्रमुखहरुलाई धुलिखेल पुर्‍याइँदै छ।
पहिलो हेलिकोप्टरमा सुशील कोइराला र संचारमन्त्री मिनेन्द्र रिजालसहितको टोली बिहान ८ .५० स्वागतका लागि धुलिखेल प्रस्थान गरेको थियो। नौ बजे दोस्रो हेलिकोप्टरमा भारत र पाकिस्तानबाहेक अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखका सुरक्षा टोली लिएर धुलिखेल लगेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्रीसहितको टोली भारतबाटै ल्याइएका तीनवटा हेलिकोप्टर लिएर धुलिखेल जाँदैछन्। अंग्रेजी बर्णानुक्रमअनुसार सार्क राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको सवारी चलाउने भनिए पनि त्यो रोलक्रमको पालना भएन।
रिट्रिटमा प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ,श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनसहित अन्य केही विशिष्‍ट पाहुनाहरु सहभागी हुनेछन्।
सरकारले धुलिखेल रिट्रिटका लागि सम्पूर्ण तयारी गरेको छ। धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा रिट्रिटको आयोजना गरिएको छ। बिहान आठ बजेदेखि अपरान्ह दुई बजेसम्म रिट्रिट चल्ने छ। धुलिखेलमा लन्च लिएर सम्मेलनको समापन समारोहमा भाग लिन सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं आउने छन्।
रिट्रिटका रिट्रिटका लागि बुधबारदेखि सुरक्षाजाँच र निगरानीलाई कडा तुल्याइएको छ। रिट्रिटमा रिफ्रेशमेन्टसँगै केही अनौपचारिक सम्वाद पनि हुनेछ। सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुलाई सेनाको हेलिकोप्टरमा धुलिखेल लैजाने तयारी सरकारको छ। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टिम भने भारतबाटै ल्याएको हेलिकोप्टरमा धुलिखेल जाने कार्यक्रम तय भएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु