सगरमाथा आराेहणका क्रममा १० जना आराेहीकाे मृत्यु

२०७६ जेष्ठ १२ गते, आईतवार

काठमाडौं, १२ जेठ । यस सिजनकाे सगरमाथा आराेहणका क्रममा १० जना आराेहीकाे मृत्यु भएकाे छ । शनिबार शिखरबाट ओर्लने क्रममा एक बेलायती आरोहीको मृत्यु भएसँगै मृतककाे संख्या १० पुगेकाे हाे । शनिबार सगरमाथाकाे शिखरमा टेकेर आेर्लन नसक्दा ४४ बर्षे रबिन हाइन्स फिसरको मृत्यु भएको हाे । उनकाे लडेर मृत्यु भएकाे सरकारीहरुले जानकारी दिएका छन् । फिसर शिखरबाट १ सय ५० मिटर तल खसेको र लगत्तै उनकाे मृत्यु भएको आरोहण संयाेजक कम्पनी एभरेस्ट परिवा एक्सपेडिसनले जानकारी दिएकाे छ ।
गत हप्ता मात्रै सगरमाथा आराेहणका क्रममा भारत, अमेरिका, अस्ट्रिया र नेपालका गरी ४ आरोहीको मृत्यु भएको थियो । शुक्रबार पनि आयरल्यान्डका ५६ वर्षीय पर्वतारोही केभिन हाइन्सको आराेहरणका क्रममै मृत्यु भयाे । यसै साता सगरमाथामा भीड बढेर जाम हुँदा ४ जनाको मृत्यु भएको जनाइएकाे छ । बुधबार एक भारतीय र एक अमेरिकी नागरिक तथा बिहीबार भारतकै २ जना आराेहीकाे ट्राफिक जामकै कारण मृत्यु भएको हाे ।
यससँगै सगरमाथामा मात्र यस सिजन मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ भने सगरमाथासहित नेपालका विभिन्न हिमाल चढ्ने क्रममा मृत्यु हुनेकाे संख्या १८ पुगेको जनाइएकाे छ । सगरमाथामा आराेहणका क्रममा बढेकाे भीड र कमजोरी तथा थकानका कारण मृत्यु हुनेकाे संख्या बढ्दै गएकाे हाे । जामका कारण ढिलाइ हुँदा अक्सिजन समेत नपुग्ने भएकाले मृत्यु दर बढेकाे बताइन्छ । यस सिजनमा सगरमाथा आरोहणका लागि पर्यटन विभागले ३ सय ८१ जना पर्वतारोहीलाई अनुमति दिएको भन्दै आलाेचना भइरहेकाे छ । विगतकाे भन्दा माैसमकाे अवस्था पनि यस सिजनमा खराब रहेकाे र एकैपटक यति धेरै जनालाई आरोहण अनुमति दिँदा सगरमाथामा जाम तथा मृत्यु समेत बढेकाे बताइन्छ । सरकारले हाल प्रतेक आराेहीबाट ११ हजार अमेरिकी डलर आराेहण दस्तुरका रुपमा उठाउँदै आएकाे छ ।

प्रतिक्रियाहरु