शोधानान्तर १० अर्ब रुपैयाँले घाटामा

२०७१ कार्तिक ६ गते, बिहीबार


काठमाडौ । देशमा भित्रिनेभन्दा बाहिरिने पैसा बढेको छ। एक महिनामा भित्रने र बाहिरिने रकमको अन्तर (शोधानान्तर) १० अर्ब रुपैयाँले घाटामा गएपछि पुँजी पलायन भएको आशंका गरिएको छ।
नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार शोधानान्तर चार वर्षपछि १० अर्ब ५० करोड रुपैयाँले घाटामा गएको छ। यो तथ्यांक चालू आर्थिक वर्षको दुई महिनाको हो। यो एक महिना अवधिमा शोधानान्तरमा ठूलो परिवर्तन आएको छ। साउनमा शोधनान्तर दुई अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो।
राष्ट्रबैंकको अनुसन्धान विभागमा लामो समय बिताएका अर्थशास्त्री केशव आचार्यले बचतमा गएको शोधानान्तर एकपटक ठूलो रक ममा घाटा हुनुले पुँजी पलायनको सम्भावना देखिएको बताए। ‘साउनमा बचतमा गएको शोधानान्तर एकैपटक १० अर्ब रुपैयाँले घाटामा जाँदा पुँजी पलायन एउटा प्रमुख कारण देखिन्छ’, उनले भने, ‘रेमिट्यान्स र व्यापार घाटाले यसमा प्रभाव पारे पनि एकैपटक शोधानान्तरमा हुने परिवर्तनले पुँजी पलायनको आंशका बढाउँछ।’
विगतमा यसरी शोधानान्तर घाटामा जाँदा पुँजी पलायन हुने गरेको आचार्यले बताए। देशमा भित्रने रकमभन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटामा जान्र्छ। अघिल्लो वर्ष व्यापार घाटा बढी पनि शोधनान्तर बचतमा गएको थियो। अघिल्लो आर्थिक वर्षको भदौमा शोधानान्तर ३३ अर्ब रुपैयाँले बचतमा थियो।
पछिल्लो समय गैरकानुनी रूपमा सुन आयातका लागि पुँजी पलायन भएको आशंका अर्थविद्ले गरेका छन्। ‘गैरकानुनी रूपमा सुन भित्र्यााउन पुँजी पलायन भएको हुनसक्ने देखिन्छ’, आचार्यले भने। विगत तीन महिनादेखि बजारमा सुन बिक्री भए पनि वाणिज्य बैंकले वैधानिक तरिकाबाट ल्याएको सुन बिक्री भएको छैन। यसबाट गैरकानुनी तरिकबाट आएको सुन बजारमा बिक्री हुने पुष्टि गर्छ।
शोधानान्तर घाटामा गएपछि त्यसको असर मुलुकको विदेशी विनियम सञ्चितीमा परेको छ। असार मसान्तमा ६ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विदेशी सञ्चिती रकम भदौमा घटेर ६ खर्ब ६० अर्ब रुपैयाँमा पुगेको छ।
राष्ट्रबैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी रेमिट्यान्स कम भित्रिएकाले शोधानान्तर घाटामा गएको बताउँछन्। ‘साउन र भदौमा उल्लेखनीय रूपमा वैदेशिक ऋण र सहायता प्राप्त भएको छैन’, उनले भने, ‘रेमिट्यान्सको तुलनामा सामान आयात बढेकाले रुपैयाँ बाहिरिएको हो।’
राष्ट्रबैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आर्जन करिब चार अर्ब रुपैयाँले घटेको छ। अघिल्लो वर्ष भदौसम्ममा ८८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्समार्फत आएको थियो। यस वर्षको भदौमा ८४ अर्ब ४८ करोड रुपैयाँ मात्र रेमिट्यान्स आएको छ।
अवैध रूपमा आउने विदेशी मुद्रा प्रणालीमा देखिँदैन। यसले बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्स रकम कम भएको देखाउने गर्छ। निर्यात व्यापार भने अघिल्लो वर्षको तुलनामा कमजोर भएको र आयात उच्च रकमले बढेको देखिएको छ। भदौमा १४ अर्ब रुपैयाँको निर्यात भएको छ भने एक खर्ब २६ अर्ब रुपैयाँको आयात भएको छ। दुई महिनामा एक खर्ब ११ अर्ब व्यापार घाटा भएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार