महराका काला छालाहरू – वैरागी जेठा

२०७५ श्रावण १२ गते, शनिबार

कसैलाई चित्त बुझ्ला नबुझ्ला
महराका काला छालाहरू
कविले बुझ्छ !
भिमसेन गल्लीको चोकमा
उडिरहेका धूलाहरू
उस्का कालाकपालमा बज्रिरहेछन्
नाकका प्वालहरू थुनेर
रतिभर उसलाई पश्चाताप छैन
चोकमा बसेका क्षणहरू
कवि
उसलाई मन पराउँछ
ऊ काम गरिरहेछ
महराका काला छालाहरूले
पटक, पटक ठुँगीरहन्छन्
अनेक मान्छेहरू
आउँछन्, जान्छन्
सधैँ त्यही चोकमा
थ्याच्च बसिरहेको हुन्छ
उसको शरीर घामले डढेर
अँगार भइसक्दा पनि
प्रायः त्यहीँ हुन्छ
महरा
स्तम्भ बनेको छ
यस, समय ! ऊ
उनका मित्र भनेकै
मान्छेका जुत्ताहरू हुन्
बुझ्दै जान्छ कवि
ऊ पुस्तक पढ्न रुचि राख्छ
कवि !
उसलाई असल साथी बनाउँन चाहन्छ
कविको अनुभव
उसँग विलक्षण प्रतिभा छ
तैपनि ऊ
भिमसेन गल्लीको चोक छोड्दैन
महराका काला छालाहरू
हृदयका बास मागिरहेका छन्
कवि भालाकुसारी गर्छ
छिन्नभिन्न भएका तन सँगालेर
उसका कठिनाईहरू
टिपीरहेछ कलमका निफहरू
महानगरका सिपाहीहरूले
सिठ्ठी बजाएपछि
ऊ थरर काँप्छ
सिपाहीहरू जान्छन्
फेरि त्यही ठाउँमा थुचुक्क बस्छ
महराको कालो छाला ।

प्रतिक्रियाहरु