भँगेरा लोप हुन थाले

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत्र । जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने गरेका छन् । हुलका हुल देखिने भँगेरा हाल कम मात्रै देखिने गरेको स्थानीयवासीको भनाइ छ । कञ्चनपुरलगायत तराईका जिल्लामा केही वर्षदेखि तापक्रम ४० देखि ५५ डिग्रिसेल्सियससम्म पुग्ने गरेको छ ।
परम्परागत घरमा भँगेरालाई गुँड लगाउन र बस्नका लागि प्रर्याप्त ठाउँ हुन्थ्यो वातावरणका जानकार बहादुर सिंह महराले भने , “हाल बन्ने आधुनिक पक्की घरमा भँगेराले गुँड लगाउने र बस्ने ठाउँ नहँुदा देखिन छाडेका हुन ।”
बढ्दो ध्वनी, धुवाँ र माटो प्रदूषणका कारणसमेत भँगेराका प्रजाति लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । भँगेराले आहाराका रुपमा रुचाउने किरा फट्यांग्रा र खेतमा छरेको अन्न नै हो । खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोग गर्ने क्रम बढ्ेपछि भँगेराको प्रजातिसमेत त्यसको चपेटामा परेको छ ।
“भँगेराले खेतबारीमा विषादीका कारण मरेका कीरा फट्यांग्रा र छरेको अन्न खाँदा मर्ने गरेका छन्” महराले भन्नुभयो । “गाँउ शहर भएर बग्ने नदीमा उद्योगबाट निष्कने रसायन मिसाइएको पानी र ढलको पानी मिसाउने गरिएकाले पानी प्रदूषित हुने गरेको छ जुन पानी भँगेराले समेत प्रयोग गर्ने भएकाले यसबाट भँगेरा मर्ने गरेका छन्” टेकबहादुर हमालले बताए ।
एक अध्ययनअनुसार बजार क्षेत्रमा लगाइने स्ट्रिट लाइटका कारण भँगेराले रात दिन पहिचान गर्न नसक्ने र मोबाइल टावरबाट निष्कने रेडियसनका कारण बाटो पहिचान गर्न नसक्ने भएकाले पनि यसको संख्यामा कमी आएको छ । भँगेरा तीनदेखि १३ वर्षसम्म बाच्ने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु