बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत बढ्ने

२०७० माघ १३ गते, सोमबार


काठमाडौं । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत बढ्ने देखिएको छ । ड्रिलिङ र टेस्ट टनेल निर्माण गरिरहेको हाई हिमालय हाइड्रो कन्स्ट्रक्शन्सका प्रबन्धक इन्जिनीयर रामचन्द्र त्रिपाठीले कमजोर भू-बनोटका कारण आयोजनाको लागत बढ्ने बताए ।जियोग्राफिक टेस्ट टनेल -सुरुङमार्फत् भौगर्भिक परीक्षण) गर्ने क्रममा भौगर्भिक अवस्था कमजोर भेटिएकाले आयोजनाको लागत बढ्ने देखिएको हो । भौगर्भिक परीक्षण गर्ने क्रममा ६ प्रकारमा वर्गीकरण गरी चट्टानको अध्ययन गरिरहेको उनले जानकारी दिए ।
त्रिपाठीका अनुसार तीन, चार, पाँच र छ वर्गका चट्टान भेटिएको र एक र दुई वर्गका चट्टान भेटिएको छैन । ‘एक र दुई वर्गको चट्टान भेटिएको भए कमजोर बाँध बनाउँदा हुन्थ्यो’ उनले भने -’न्यून गुणस्तरको भौगर्भिक अवस्था भएकाले बलियो बाँध बाँध्नु पर्ने हुन्छ, जसले आयोजना निर्माणमा अर्बौको लागत बढाउँछ ।’उनले ९१ प्रतिशत टेस्ट टनेल निर्माण सम्पन्न भइसकेको पनि जानकारी दिए । परीक्षण सुरुङ निर्माणका क्रममा भेटिएको चट्टान देखाउँदै उनले भने -’६१७ मिटर सुरुङ खनिसकेका छौं, अहिलेसम्म गुणस्तरीय चट्टान भेटिएको छैन ।’
६०० सय मेगावाट उत्पादन क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले आठ वर्षभित्र आयोजना सम्पन्न गर्दा डेढदेखि दुई खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । समितिले २०७७ फागुन १४ गते बत्ती बाल्ने घोषणा गरिसकेको छ । आयोजना तीब्र गतिमा निर्माण गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा १३ महिनाअघि समितिको गठन भएको थियो । समितिमा ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र विज्ञ सञ्चालक गरी ७ जना सञ्चालक छन् ।
समितिले प्रारम्भिक अध्ययनपछि ६७७ मिटर लामो परीक्षण सुरुङ खन्न हाई हिमालयलाई ठेक्का दिइएको थियो । गोर्खाको घ्याल्चोकमा दुईवटा र धादिङको नलाङ गाविसमा दुईवटा गरी चारवटा परीक्षण सुरुङहरु निर्माण भइरहेका छन् । ६० मिटर गहिराइबाट डि्रलिङ गरी चट्टान निकालिएको छ । २ सय २५ मिटर अग्लो बाँध बाँधिने भएकाले भौगर्भिक अध्ययनका लागि १३ सय मिटर लामो सुरुङ खन्नुपर्ने हाई हिमालयको सुझाव छ ।
एक मिटर टनेल निर्माणका लागि एक करोड रुपैयाँका दरले भुक्तानी दिइएको समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मी देवकोटाले अनलाइनखबरलाई बताए । ‘टेस्ट टनेल निर्माणका लागि ७ करोड रुपैयाँ खर्च भएको छ, कम्पनीले १३ सय मिटर खन्नु पर्ने प्रस्ताव गरेको छ’ उनले भने -’कम्पनीको प्रस्तावमाथि छलफल भइरहेको छ ।’ कम्पनीले प्रस्ताव गरेअनुसार टेस्ट टनेल खन्नुपर्ने भए आयोजनाले थप ७ करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।
नेपालको हिमालय क्षेत्र कान्छो भएकाले भौगर्भिक अवस्था कमजोर रहेको समितिका इन्जिनीयर तथा सहायक सञ्चालक रमेश स्थापितले बताए । ‘युरोप, अमेरिकाका चट्टानको तुलनामा एसिया क्षेत्र र त्यसमा पनि नेपालका चट्टान कमजोर छन्’ उनले भने -’युरोप, अमेरिकाको हिमालय क्षेत्र हाम्रोभन्दा लाखौं वर्ष पहिले बनेकाले बलियो भएको हो ।’
भौगर्भिक अवस्था कमजोर भएपनि परियोजना बनाउन मिल्ने दुबै इन्जिनीयरहरु बताउँछन् । ‘कमजोर भौगर्भिक अवस्था रहेको चीनमा सयौं परियोजनाहरु सफलतापूर्वक सम्पन्न भएका छन् भने नेपालमा बनेका परियोजनाको भौगर्भिक अवस्था पनि बूढीगण्डकीको जस्तै हो ।’ इन्जिनीयरद्धयले भने । उनीहरुका अनुसार बलियो भौगर्भिक अध्ययन भेटिएको भए ५/७ अर्ब रुपैयाँ लागत घट्ने थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार