पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण निःशुल्क

२०७३ चैत्र १० गते, बिहीबार

काठमाडौं, १० चैत । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्षभित्रमा देशभरका ७५ ओटै जिल्लामा ‘बृहत् प्रजनन स्वास्थ्य मेला’अन्तर्गत् पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । मन्त्रालयले परिवार महाशाखाअन्तर्गत् पहिलो चरणमा २० जिल्लामा गर्ने भनिएको प्रजनन स्वास्थ्य मेला बुधबार नुवाकोट जिल्लाबाट सुरु गरेको हो । नुवाकोटमा सन्चालन गरिएको उक्त स्वास्थ्य मेलामा २७१ महिलाको स्वास्थ्य परीक्षण गरिएको परिवार महाशाखाका निर्देशक नरेशप्रताप केसीले बताए । साथै, पाँच महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि भीआइए टेस्ट स्क्रिनिङ गरी क्रायोथेरापी गरिएको छ । निर्देशक केसीकाअनुसार क्रायोथेरापी गरेपछि पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।
त्यस्तै, स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रजनन स्वास्थ्यसँग सम्बन्धित रहेर भीआइए टेस्ट, भ्यासेक्टोमी, मिनिल्याब, परिवार नियोजनसम्बन्धी परामर्श, पाठेघर खस्ने समस्यासम्बन्धी परामर्शलगायतका सेवाहरु उपलब्ध हुने बताए । मन्त्री थापाकाअनुसार बुधबार (हिजो) नुवाकोटबाट सुरु भएको भीआइए टेस्ट स्क्रिनिङ यसै आवभित्र ७५ ओटै जिल्लाबाट सुरु गरिने बताए । साथै, उनले थप २० स्थानमा बृहत प्रजनन स्वास्थ्य मेला सन्चालन गरिने बताए । मन्त्रालयकाअनुसार आगामी वर्षदेखि क्रमश सबै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थामा भीआइए टेस्ट स्क्रिनिङ पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रियाहरु