पलेँटी उत्सव भदौ २६ देखि

२०७१ भाद्र १३ गते, शुक्रबार


काठमाडौं- आगामी भदौ २६ देखि २८ सम्म जावलाखेलस्थित डिएभी स्कुलमा पलेँटी उत्सव हुने भएको छ। उत्सवमा कलाकार दीपक खरेल, कुन्ती मोक्तान र आभास प्रस्तुत हुने भएका छन्। आयोजक नेपालयले प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो संस्करणमा खरेल र मोक्तानसँगै आभाषलाई प्रस्तुत गर्न लागेको जानकारी गराएको हो।
सत्तरी र असीका दशकमा लोकप्रिय गीतहरु दिएका दीपक खरेल आज पनि श्रोतामाझ उत्तिकै प्रतिष्ठित छन्। उनका ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘तिम्रो हर प्रश्नको जवाफ’ जस्ता दर्जनौं गीतहरु सदाबहार मानिन्छन्। गत वर्ष मात्र खरेलले विजय सिवाकोटीको एकल एल्बममार्फत् आफूलाई संगीतमा सक्रिय तुल्याएका थिए। कार्यक्रममा उनले केही नयाँ गीत पनि सुनाउने छन्।
‘हामीले सक्रिय रुपमा गाउँदाको समय र अहिलेमा प्रविधिदेखि प्रस्तुतिसम्म ठूलो अन्तर आइसकेको छ,’ खरेल भन्छन्, ‘पलेँटी उत्सवमार्फत् श्रोतालाई फेरि पुराना दिनहरु सम्झाउनुका साथै नयाँ पुस्तालाई समेत हाम्रो समयसँग जोड्न इच्छुक छु।’
उत्सवका अर्का प्रस्तोता कुन्ती मोक्तान ‘माथि माथि सैलुङेमा’, ‘गोठालो जाँदा’, ‘धरान धनकुटा’, ‘कहिले काहीँ मलाई पनि’ र ‘तिम्रो मायाले मलाई डोर्यााइल्यायो’ जस्ता गीतहरुका कारण लोकप्रिय छिन्।
उनले यसपटक पलेँटी शृंखलामा नयाँपुराना गीत सरोबर गाउनेछिन्। ‘यसअघि पलेँटी शृंखलामा प्रस्तुत हुँदा संगीतका गम्भीर श्रोता पाएर प्रभावित भएकी थिएँ, कार्यक्रममा केही नयाँ सिर्जना पनि प्रस्तुत गर्ने तयारी गरिरहेकी छु,’ मोक्तानले भनिन्।
यसपालिको पलेँटी उत्सवमा भदौ २६ मा आभास, भदौ २७ मा कुन्ती मोक्तान र भदौ २८ मा दीपक खरेल प्रस्तुत हुनेछन्।

प्रतिक्रियाहरु