नेकपाका नेता–कार्यकर्तालाई बदनाम नगर्न चेतावनी

२०७७ बैशाख ९ गते, मंगलवार

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले सत्ताधारी पार्टीका नेता–कार्यकर्ता राज्यकोष दुरुपयोग गर्दै नेकपाका नेता–कार्यकर्तालाई दुःख दिन र बदनाम गर्न उद्यत रहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । सो पार्टीका भोजपुर जिल्ला सेक्रेटरी नवीनले प्रेस विज्ञप्ति जारी गर्दै देश कोरोना भाइरसको सङ्क्रमणको महामारी झेलिरहेको समयमा आफ्नो पार्टी जनताको सेवा र सुरक्षामा लागिरहेको तर सरकारी निकाय, सरकारी पार्टीका नेता–कार्यकर्ता राज्यकोष दुरुपयोग गर्दै नेकपाका नेता–कार्यकर्तालाई दुःख दिन र बदनाम गर्न उद्यत रहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।
नवीनको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्व अहिले कोरोना भाइरस (कोभिड १९) को महामारीले आक्रान्त भइरहेको छ । नेपाल पनि कोरोना भाइरसको महामारीसहित लकडाउनको चपेटामा छ तर अहिले नेपाल सरकार, सत्ताधारी पार्टी र नेता–कार्यकर्ताहरू जनताको, सेवा सुरक्षा, स्वास्थ्यभन्दा पनि कमिसन र लुटतन्त्रमा लिप्त छन् । हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सरकारी प्रतिबन्ध र दमनका बीच पनि यो महामारीमा जनसेवामा जुटिरहेको सर्वविदितै छ । सरकारको दमन र धरपकडका बीच पनि हाम्रा पार्टी समितिहरू जनसेवामा जुटिरहेका छन् ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यही सन्दर्भमा यही वैशाख १ गते राती सरकारी पास लिई मोटरसाइकल लिएर आफ्नो बिमा कम्पनीको मार्केटिङका लागि साल्या सिलिसोङबाट फिर्ता क्रममा कुदावाहलेको तावुटारमा एउटा होटेलमा रक्सी खाएर नजिकैको वर्कसपमा मोटरसाइकल मर्मत गरी ग्यारेजवालालाई हप्काइदप्काई होहल्ला गरेको खबर आएपछि केही स्थानीयसहित राती ९ बजे हाम्रो पार्टीका जिल्ला समिति सदस्य कमरेड प्रकाश गुढङ्ग तल्लो नानु पुग्दा आफूलाई सत्ताधारी पार्टीका विद्यार्थी सङ्गठनका नेता बताउने प्रकाशसिं राईसहितका तीनजना युवा मातेर होहल्ला गरिरहेको अवस्थामा थिए । उनीहरूलाई सम्झाइबुझाइ गर्न खोज्दा आक्रमण गर्न तम्सिएका उनीहरू अन्य स्थानीयहरू देखेपछि पछि हटे । स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनले यथार्थ बुझेर निजहरूका पक्षमा नबोलेपछि आफ्नो गल्ती ढाकछोप गर्न भोजपुर आएर वैशाख ४ गते वक्तव्यबाजी गर्दै हाम्रो पार्टी र हाम्रा नेता–कार्यकर्तालाई बदनाम गर्ने कार्य निन्दनीय छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देश महामारीले आक्रान्त छ । जनता भोकभोकै सडकमा छन् तर जनताको सेवा, सुरक्षा र स्वास्थ्यमा गम्भीर रहनुपर्ने बेलामा सरकार र सत्ताधारी नेता–कार्यकर्ताहरू सत्ता र शक्तिको दुरुपयोग गर्दै घूस, कमिसनमा चुर्लुम्म डुबेर हाम्रा नेता–कार्यकर्ताहरूलाई बदनाम नगर्न पार्टी जिल्ला समिति सचेत गराउँछ । सङ्कटको यो घडीमा घूस, कमिसन र भ्रष्टाचारमा संलग्न भेटिए जोकोहीलाई कारबाही गर्ने चेतावनी विज्ञाप्तिमार्फत दिन्छौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु