नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै

२०७४ बैशाख १२ गते, मंगलवार

काठमाडौं, १२ वैशाख । नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै भेटिएको छ । गत विहीबार दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडडक सहरकी २४ वर्षीया एक महिलाले आफ्नो नवजात शिशु जमिनमुनी गाडेकी थिइन् । काठ फर्निचरमा मजदुरी गर्ने ती महिलाले एक शिशुलाई यसअघि नै जन्म दिइसकेकी थिइन् । दोस्रो शिशु जन्मिएपछि बाबु–आमाको डरले काठ कारखानाकै जमिनमा माटो र काठका टुक्राहरुले आफ्नो शिशुलाई पुरेर छोडेकी थिइन् । गाडेको तीन दिनपछि काठ फर्निचरका कर्मचारीहरुले शिशु रोएको चाल पाएपछि प्रहरीलाई खबर गरेका ‘डेलीमेल’ले उल्लेख गरेको छ । प्रहरीले शिशुलाई अस्पताल भर्ना गरेको छ भने शिशुको आमालाई पक्राउ गरेर सोधपुछ गरिएको जनाइएको छ ।
त्यहाँका प्रहरी प्रमुख (कप्तान) गेराल्ड फेकाकाअनुसार घटनास्थल पुग्दा माटो र केही काठका टुक्राहरुले पुरिएको अवस्थामा शिशु भेटिएको थियो । प्रहरीले खोजतलास गरेपछि ती शिशुकी आमाले आफ्नो अपराध स्वीकार्दै शिशु आफ्नो भएको बताएकी थिइन् । प्रहरीकाअनुसार ती महिलाले बाबु–आमाको डरले शिशु पुरेको बताएकी छन् । उनले पहिलो बच्चा हुर्काउन कठिन भइरहेकोबेलामा दोस्रो शिशु जन्मिएपछि गाली गर्ने डरले त्यसो गरेको बयान दिएकी छन् । शिशुलाई अहिले सेपस्टोन क्षेत्रीय अस्पतालमा इन्टेसिभ केयरमा युनिट (आइसीयु)मा राखिएको प्रहरीले जनाएको छ । अस्पतालले फेरि उनको आमाले त्यस्तै हर्कत गर्ने भन्दै प्रहरीलाई शिशुको जिम्मा लगाउने उल्लेख गरेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु