दृष्टि फाउण्डेशन, मानसिक समस्या भएका बेसहारालाई सहारा दिँदै

२०७५ श्रावण ४ गते, शुक्रबार

काठमाडौं, ४ साउन । धनगढी उपमहानगरपालिका वडा नं.१ मा रहेको एउटा घरमा ९ जना मानसिक समस्या भएका महिलाहरुको सुरक्षाका लागि नियमित ताला लाग्ने गरेको छ । ‘ताला लगाइएन भने उनीहरु भाग्न खोज्छन्’ ती महिलाहरुको स्याहारमा संलग्न भोलेन्टियर ललिता चौधरीले भनिन् – ‘सुरक्षाको लागि सधैभरी गेटमा ताला लगाई राख्नु पर्दछ ।’ मानवीय भावना भएका केहि व्यक्तिहरुको पहलमा मानसिक समस्या भएकाहरुलाई स्याहारका लागि घरमा ल्याइएको छ । सहारा नभएका महिलाहरु, जो मानसिक रुपमा विक्षिप्त छन् । तिनीहरुको स्याहार गर्न चुनौतीको विषय हो । तर, ठूला हृदय र मानवीय भावना भएका केहि व्यक्तिले सडकबाट उठाएर तिनीहरुलाई सहारा दिएका छन् ।
व्यक्तिगत रुपमा सम्भव नभएकाले दृष्टि फाउण्डेशन नेपाल नामक संस्था दर्ता गरी ती महिलाहरुलाई राखिएको छ । उनीहरुलाई प्रदेश नं.७ को विभिन्न जिल्लाको सडकबाट उठाएर त्यहाँ लगिएको हो । अहिले १ जना विदेशी सहित ९ जना महिला सो संस्थाको संरक्षणमा रहेका छन् । सो संस्थाका अध्यक्ष कल्पना भट्टले भनिन्-‘सडकमा रहँदा यिनीहरुको अवस्था निकै दयनीय र दया लाग्दो थियो । हामीले अहिलेसम्म ९ जनालाई उद्धार गरेर ल्याएका छौं ।’ फाउण्डेशनले वैशाख महिनाबाट उनीहरुको उद्धार गर्न सुरु गरेको हो । सडकमा रहँदा पटक–पटक बलात्कृत भई उनीहरु गर्भवती भएको बताइएको छ । तीमध्ये २ जना गर्भवती छन् । एउटी महिला सातौं र अर्की महिला चौथो पटक गर्भवती भएकी छिन् । अध्यक्ष भट्टका अनुसार चौथो पटक गर्भवती भएकी महिलाले २ बच्चा सडकमा जन्माएकी थिइन् । ती २ बच्चालाई कुकुरले खाई दिए । उनले जन्माएको एउटा बच्चालाई भने कसैले सहारा दिएका छन् ।
त्यसैगरी, सातौं पटक गर्भवती भएकी महिलाले ३ बच्चा घरमा जन्माएकी थिइन् । त्यस्तै, ३ बच्चा सडकमा जन्माउँदा मरेको बताइएको छ । गर्भवतीमध्येका एक महिला राति ‘मामा, मलाई न तान्नुस’ भनेर कराउने गर्दछिन् । उनी सधैंभरी मामा भनेर कराउने, डराउने, रुने गरेकाले मामा नाता पर्नेबाट बलात्कृत भई त्यस्तो अवस्थामा पुगेको हुन सक्ने अनुमान गरिएको छ ।
सडकबाट उनीहरुलाई उद्धार गरेर ल्याउँदा सेन्ट छर्किदैं ल्याउनु परेको तर, फाउण्डेशनको संरक्षणमा राखेर स्याहार गरेपछि आ-आफ्ना चप्पल, कपडा चिन्न सक्ने सम्म भएको उनले बताएकी छिन् । फाउण्डेशनको कुनै पनि आयस्रोत नभएका कारण त्यहाँ रहेका हिल वल्र्ड विद्यालय र छरछिमेकका व्यक्तिले गरेको खाद्यान्न सहयोगको भरमा ती असहायहरुको पेट भर्ने गरिएको बताइएको छ ।
समुदायबाट धेरथोर सहयोग भइरहे पनि उनीहरुको व्यवस्थापनमा निकै समस्या रहेको फउण्डेशनका राजकुमारी चौधरीले बताइन् । उनले भनिन्-‘मानसिक समस्या भएका बेसहाराहरुलाई सहारा दिन पाउँदा निकै खुशी भएका छौं, तर, व्यवस्थापन गर्न गाह्रो छ ।’ प्रदेशको विभिन्न जिल्लामा गरी अझै पनि सडकमा करिब २१ जना महिलाहरु रहेको छन् तर, सीमित ठाउँ रहनु र आर्थिक अभावका कारणले सबैलाई ल्याएर राख्न सकिएको छैन । उनको संरक्षणमा रहेकाहरुलाई व्यवस्थापन गर्न र थप अरुलाई पनि सहारा दिनका लागि घरको पछाडि एउटा टहरा बनाउन आवश्यक रहेको उनले बताइन् ।
‘स्रोत, साधन नहुँदा टहरा बनाउन सकिएको छैन । मानसिक समस्या भएकाहरुको व्यवस्थापनको लागि प्रदेश सरकारले पनि केहि गरेको छैन,’ उनले भनिन् । बिहीवार रोटरी क्लब अफ धनगढीको टिमले संरक्षण दिइएकाहरुको वस्तुस्थितिको अध्ययन गरेको छ । रोटरी क्लबका अध्यक्ष पुष्कर ओझा सहितको टोलीले महिलाहरुको अवस्था र भौतिक अवस्थाबारे बुझेको थियो । त्यसले सक्ने सहयोगको प्रतिबद्धता जनाएको छ । बेसहाराको संरक्षण गर्ने दायित्व राज्यको भए पनि ध्यान नदिँदा संघ संस्थाले गर्नु परेको बताइएको छ ।

प्रतिक्रियाहरु