दीपक मनाङेलाई १९२ देशका प्रहरीले खोज्दै

२०७४ चैत्र ४ गते, आईतवार

काठमाडौं, ४ चैत । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङे भनिने राजीव गुरुङविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । केही समययता प्रहरीको फरार सूचीमा रहेका मनाङे नेपाल बाहिर लुकेको सूचनाका आधारमा प्रहरीले रेड कर्नर नोटिस जारी गरेको हो । गुण्डा नाइकेको रुपमा चिनिएका गुरुङको नेपालभित्र मात्रै नभएर विदेशमासमेत खोजी भइरहेको प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले जानकारी दिए । मनाङे अब इन्टरपोल सदस्य १९२ देशको प्रहरीको खोजीमा परेका छन् । २०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएपछि प्रहरीले मनाङेको खोजी थालेको हो ।
२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो । सोही घटनाका आरोपी अन्य ४ जनालाई गत माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु