डेंगुको संक्रमण ११ गुणाले बढ्यो !

२०७६ श्रावण ३० गते, बिहीबार

काठमाडौँ, ३० साउन । सरकारले डेंगु रोग नियन्त्रणका लागि प्रत्येक वर्ष करोडौं रकम खर्च गरेपनि पछिल्लो पाँच वर्षको तथ्याङले डेंगुको संक्रमण करिव ११ गुणाले बढेको देखाएको छ । अहिले पनि तीन हजार चार सय २५ जनामा संक्रमण देखिसकेको छ । सरकारले डेंगु नियन्त्रणका लागि लामखुट्टेको खोजी गरी लार्भा नष्ट गर्न अभियान नै संचालन गरेको छ । डेंगुबाट बढी प्रभावित एक सय पाँच स्थानीय तहका लागि एक करोड ६६ लाख रुपैयाँ बजेट पठाएको छ । त्यसैगरी डेंगु तथा किटजन्य रोग नियन्त्रणका लागि सात वटा प्रदेशका लागि छ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी केन्द्र सरकारमा डेंगु नियन्त्रणका लागि एक करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ । यसरी कुल नौ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भएपनि डेंगु संक्रमण भने बढ्दै गएको छ ।
गत वर्ष पनि सरकारले डेंगु नियन्त्रणका लागि करिव सात करोड रुपैयाँ खर्च गरेको थियो । करोडौं रुपैयाँ खर्च गरेको भएपनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । डेंगुको संक्रमण अझ बढ्न सक्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिज्ञप्ति निकाल्दै सचेत गराइसकेको छ । डेंगु भाइरस मुख्य रूपमा पोथी एडिस एजिप्टाई लामखुट्टे र थोरै मात्रामा एडिस एल्वोपिक्ट्सबाट फैलिन्छ । विश्वमा प्रत्येक वर्ष ३९ करोड मानिस डेंगुबाट संक्रमित हुने गरेका छन् भने २० हजारको मृत्यु हुने गरेको तथ्यांक छ ।

प्रतिक्रियाहरु