जर्मनीले जित्यो विश्वकप

२०७१ असार ३० गते, सोमबार


काठमाडौँ, ३० असार । ब्राजिलस्थित रियो दि जेनेरियोको माराकाना रङ्गशालामा गएराति भएको बिसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको उपाधि जर्मनीले हात पारेको छ ।गएराति भएको फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोलले पन्छाउँदै उपाधिमाथि कब्जा गरेको हो । यस उपाधिसहित जर्मनीले चौथोपटक उपाधि हासिल गर्दै इटालीसँग बराबरीसमेत ग¥यो । इटालीले पनि विश्वकपमा समान चार उपाधि हासिल गरिसकेको छ ।
जर्मनीले २४ वर्षपछिको लामो पर्खाइपछि उक्त उपाधि हासिल गरेको हो । यसअघि सन् १९९० मा भएको विश्वकपमा उपाधि हासिल गरेको थियो । त्यो बेला पनि अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
जर्मनीको जितमा मारियो गोटेज नायक बने । २२ वर्षीय गाटेजले खेलको अत्तिरिक्त समयको सात मिनेट बाँकी रहँदा (११३ मिनेट) डिबक्स एरियाबाट गरेको एक गोल नै जर्मनीको लागि निर्णायक गोल साबित बन्यो ।
यस गोलसँगै उनको अन्तर्राष्ट्रिय गोल सङ्ख्या ११ पुगेको छ । खेलको निर्धारित समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । जसमा त्यो अत्तिरिक्त समयको थप ३० मिनेटलाई सदुपयोग गर्दै जर्मनीले उपाधि आफ्नो पोल्टामा पा¥यो । यस उपाधिसहित जर्मनी दक्षिण अमेरिकी महादेशमा विश्वकप जित्ने पहिलो युरोपियन टोलीसमेत बन्यो ।
त्यस्तै अर्जेन्टिनाको यसपटकको उपाधि जित्ने सपना भने चकनाचुर हुन पुग्यो । २४ वर्षपछि फाइनलमा पुगेको अर्जेन्टिना फेरि उपाधिबाट वञ्चित हुनुप¥यो । सन् १९९० मा भएको विश्वकपमा पनि अर्जेन्टिना जर्मनीसँगै हार बेहोर्र्दै प्रतियोगितामा उपविजेता बनेको थियो ।
यस्तै यसअघि दुईपटक विश्वकपको उपाधि जितेको अर्जेन्टिना खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पनि उपाधिबाट हात धुनुप¥यो । अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा भएको विश्वकपमा उपाधि जितेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु