रुसद्वारा युक्रेनको थप दुई गाउँ कब्जा

२०८१ बैशाख २७ गते, बिहीबार

काठमाडौँ । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको र जसमा खार्किभ क्षेत्र पनि समावेश भएको बताएको छ । किएभले पश्चिमी सहयोगको महत्त्वपूर्ण आपूर्तिको प्रतीक्षा गरिरहेका बेला रुसले युद्ध मैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको छ । रुसी रक्षा मन्त्रालयले उसको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ । किस्लिभ्का सङ्कटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो ।
युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित छन् । युक्रेनका कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ तीनवटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको स्वीकार गरेका थिए ।
अलगरूपमा रुसी रक्षा मन्त्रालयले किएभले रातभर हवाई आक्रमण गरेपछि युक्रेनी ऊर्जा र सैन्य केन्द्रविरुद्ध जवाफी आक्रमण सुरु गरेको बताएको छ । “रुसी ऊर्जा सुविधाहरूमा क्षति गर्न किएभ शासनको प्रयासको जवाफमा आज बिहान रुसी सङ्घको सशस्त्र सेनाले युक्रेनको सैन्य–औद्योगिक परिसरको ऊर्जा सुविधा तथा उद्यमहरूविरुद्ध सामूहिक आक्रमण सुरु गरेको छ” मन्त्रालयले भनेको छ ।- एएफपी

प्रतिक्रियाहरु