चीन अमेरिकासँग असन्तुष्ट

२०७४ चैत्र ४ गते, आईतवार

काठमाडौं, ४ चैत । अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एक कानुनमा हस्ताक्षर गर्दै अमेरिकी अधिकारीलाई ताइवान भ्रमण गर्न र त्यहाँका अधिकारीहरुलाई भेट्न बाटो खोल्ने निर्णय गरेका थिए । यो निर्णयले चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा तुषारापात आउने भन्दै चीनले असन्तुष्टि ब्यक्त गरेको हो । चीनका बिदेशमन्त्री लु काङले पत्रकार सम्मेलन गरी अमेरिकाले एक चीन नीतिको उल्लंघन गरेको भन्दै आपत्ति जनाए । अमेरिकी कदमले चीनलाई आक्रोशित तुल्याउन सक्ने आंकलन पहिले नै गरिएको थियो । चीनले अमेरिका र ताइवानबीच हतियार कारोबार हुने निश्चित प्रायः भएको भन्दै असन्तुष्टि जनाएको छ ।
हाल अमेरिका र ताइवानबीच कूटनीतिक सम्बन्ध स्थापित नभएको अवस्थामा अमेरिकाले यस्तो निर्णय गरेको हो । अमेरिकाले चीनलाई समर्थन गर्दै सन् १९७९ मा ताइवानसँग कूटनीतिक सम्बन्ध बिच्छेद गरेको थियो भने ब्यापारिक सम्बन्ध भने यथावत् राखेको थियो ।नयाँ कानुनले ताइवानलाई एसियामा प्रजातन्त्रको ज्योतिको रुपमा चित्रण गर्दै ताइवानले हासिल गरेको उपलब्धिले यस क्षेत्रका अन्य देश र जनतालाई पनि प्रेरणा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु