अखिल क्रान्तिकारीद्वारा राष्ट्रियता रक्षाका लागि सङ्घर्षमा उत्रिन आह्वान

२०७७ बैशाख २८ गते, आईतवार

काठमाडौं , २८ बैशाख । अखिल क्रान्तिकारीले नेपालको राष्ट्रियता रक्षाका लागि सङ्घर्षमा उत्रिन आह्वान गरेको छ । सो सङ्गठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको भूमिमाथि अतिक्रमण गर्ने भारत सरकार र नेपाली भूमि मिचिँदा पनि मौन बस्ने नेपाल सरकार दुवैको भत्र्सना गर्दै नेपालको राष्ट्रियता रक्षाका लागि सङ्घर्षमा उत्रिन आह्वान गरेको हुन् । अध्यक्ष ढकालले विज्ञप्ति जारी गर्दै हालै भारतीय सरकारका रक्षामन्त्रीले नेपाली भूमि कालापानी–लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो उद्घाटन गरेको घटनाप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको र एउटा स्वतन्त्र, स्वाधीन एवम् सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भूमिमाथि भारतीयहरूको हस्तक्षेप अत्यन्तै घिनलाग्दो, निन्दनीय र भत्र्सनायोग्य रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हालै भारतीय सरकारको रक्षामन्त्रीको नेपाली भूमि कालापानी–लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो उद्घाटन गरेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । एउटा स्वतन्त्र, स्वाधीन एवम् सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भूमिमाथि भारतीयहरूको हस्तक्षेप अत्यन्तै घिनलाग्दो, निन्दनीय र भत्र्सनायोग्य छ । नेपाली भूमिबाट खोलिएको उक्त सडकको उद्घाटन गर्ने कार्यले भारतीय शासकहरूमा विगतमा आफूले भोगेको दास मानसिकता अझैसम्म पनि नहटेको प्रस्ट भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भारतीयहरूले नेपाली भूमिमा करिब ८० किमि सडक निर्माण गरी उद्घाटन गरिसक्दासमेत वली सरकार कानमा तेल हालेर बसेको छ । आफ्नो देशको स्वाधीनता र राष्ट्रिय अखण्डतामाथि यति ठूलो हस्तक्षेप हुँदा पनि सामाजिक फासिवादी दलाल वली सरकार बेखबर बनेको अभिनय गरिरहेको छ । यो लम्पसारवादी नीति र व्यवहारले वली सरकार भारतीय शासकहरूको असली नोकरझैँ भएको छ । भारतीय शासकहरूलाई आफ्नो विस्तारवादी÷साम्राज्यवादी नीति नेपालमा तत्काल बन्द गर्न हाम्रो सङ्गठन चेतावनी दिन चाहन्छ । भारतीय शासकहरूको नेपाली भूमिमाथिको हस्तक्षेपको चौतर्फी विरोध एवम् भण्डाफोर गर्न सम्पूर्ण वामपन्थी, प्रगतिशील तथा देशभक्त युवा विद्यार्थीहरू, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी सबैमा हाम्रो सङ्गठन विशेष अपिल गर्दछ ।’

प्रतिक्रियाहरु