कुवामा आगो लागेपछि…..

२०७२ बैशाख ८ गते, मंगलवार

काठमाडौं । आगो लागेपछि कुवा खन्नु….यो उखान तपार्इंहरुले सुन्नुभएकै होला । तर पानीका लागि खनिएको कुवामै आगो लागेपछि भने यो उखानको पनि अर्को अर्थ खोज्ने बेला आएको छ । मध्य चीनमा अवस्थित साङ्क्सी प्रान्तको अन्साई गाउँमा स्थानीयले ताजा पानीका लागि धेरै मेहनत र पैसा खर्चेर खनाए । तर कुवाबाट निस्कने पानी यति धेरै प्रदुषित छ कि आगो नै लाग्न थालेको छ। गाउँका बासिन्दाका अनुसार कुवा खन्ने क्रममै त्यहाँबाट पेट्रोलको गन्ध आइरहेको थियो । गाउँलेले पेट्रोल स्टेशनबाट भएको चुहावटका कारण पानीमै आगो सल्केको अनुमान गरेका छन् ।तर पेट्रोल स्टेशनका मालिकले भने यो कुराको ठाडै अस्वीकार गर्दै आएका छन् । स्थानीय अधिकारीका अनुसार भूमिगत तेल भण्डार ७५० मिटरदेखि ४५ सय मिटरको बीचमा हुन्छ । यहाँ त केबल ४६ मिटर गहिरो कुवामै तेल हुने सम्भावना कम छ । अधिकारीहरुले यसको जाँच थालिसकेका छन् । पिपुल डेली अनलाइनका अनुसार चीनमा रहेका ७० प्रतिशत बढी नदी प्रदुषित रहेका छन् । कारखानाबाट निक्लने घातक कच्चा र दुषित पानीका कारण चीनका नदीहरु नराम्ररी प्रदुषित भएका हुन् । चीनमा रहेको पानीको आधा भाग प्रयोग गर्न योग्य छैन । यहाँको पानि यति धेरै प्रदुषित भएको छ कि उद्योगका लागि प्रयोग गर्न समेत नसकिने अवस्था छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु