आज विश्व क्षयरोग दिवस

२०७१ चैत्र १० गते, मंगलवार

काठमाडौं, १० चैत । ‘उपचार सेवाको पहुँच भन्दा बाहिर रहेका ३० लाख रोगीको पहिचान गरौं, सबैको उपचार गरौ’ भन्ने नारासहित सोमबार विश्व क्षयरोग दिवस मनाइदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिदैछ । जर्मन चिकित्सक रर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाइन्छ ।
विश्वमा हरेक वर्ष क्षयरोगका ९० लाख नयाँ रोगी देखा पर्ने गरेको र १५ लाखको ज्यान जाने गरेको तथ्याँक छ । नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थप भएपनि ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् । नेपालमा ८० हजार ५० जना क्षयरोगी भएको सरकारी तथ्यांक छ । गरिबी, चेतनाको अभाव र स्वास्थ्यकर्मीसँग स्वास्थ्य संस्थाको पहुँच नभएकोले पनि क्षयरोगी स्वास्थ्य सेवाको पहुँचं भन्दा बाहिर परेको नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष देवेन्द्र बहादुर प्रधानले बताए ।
ग्रामिण क्षेत्रमा शिविर संचालन गर्ने, खकार परिक्षणको लागि प्रयोगशाला खोल्ने, प्रयोगशाला नभएको ठाँउमा कुरियर गरेर भएपनि खकार परिक्षण गर्ने, जनचेतनाका कार्यक्रम संचालन भएमा रोगी स्वास्थ्य सेवाको दायरामा आउने डाक्टरहरुको भनाई छ । दुब्लो हुने, बेलुकापख ज्वरो आउने, खान मन नलाग्ने, छाती दुख्ने, खकारमा रगत आउने लगायतका लक्षण क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा जँचाउन डाक्टरको सुझाव छ । सरकारले क्षयरोगीका लागि निःशुल्क औषधीको ब्यवस्था गरेको छ ।

प्रतिक्रियाहरु