९२ वर्षीया आमाद्वारा ७२ वर्षीय छोराको गोली हानी हत्या

२०७५ असार २१ गते, बिहीबार

काठमाडौं, २१ असार । अमेरिकामा एक जना ९२ वर्षीया आमाले ७२ वर्षीय छोराको गोली हानी हत्या गरेकी छन् । म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा यही जुलाई २ तारिखमा आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि आक्रोशित भएकी ती आमाले गोली हानेर छोराको हत्या गरेकी हुन् । घटनापछि आमा एना मे ब्लेसिंगले छोराले आफ्नो जीवन बर्बाद गरिदिएपछि उसको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । एना आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी थिइन् । उनले छोराको हत्या गरेपछि आफू पनि आत्महत्या गर्न चाहेको बताएकी छन् । नाम नखुलाइएका ब्लेसिंगका छोराले आफ्नी आमासँग बस्न मुस्किल भएको भन्दै उनलाई घरमा नराखी वृद्धाश्रम लैजान खोजेका थिए । प्रहरीका अनुसार घटना भएको दिन आमा ब्लेसिंग आफ्नो छोराको कोठामा छिरिन् र सन् १९७० मा आफूले किनेको पेस्तोलबाट गोली प्रहार गरिन् ।घटनास्थलमा प्रहरी पुग्दा उनका छोराकोे मृत्यु भइसकेको थियो । भागेर ज्यान जोगाएकी मृतककी प्रेमीकाले घटनाबारे प्रहरीलाई जानकारी दिएकी थिइन् । ब्लेसिंगमाथि हत्या र अपहरणको मुद्दा दर्ता भएको छ । जमानतका लागि अदालतले पाँच लाख डलर तोकेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु