सुर्तीजन्य पदार्थको नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

२०७४ पुष २८ गते, शुक्रबार

काठमाडौं, २८ पुस । स्वास्थ्यमन्त्री दीपक बोहराले सुर्तीजन्य पदार्थको नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक गरेका छन । उनले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले तयार पारेको रणनीति सार्वजनिक गरेका हुन् ।
स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बोहराले विश्व स्वास्थ्य संगठनले बनाएको रणनीतिले निकै राम्रो सुझाव दिएको भन्दै यो कार्यान्वयन गर्न सकिए सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सकिने बताए । स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले रणनीतिले दिगो विकासको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपालका लागि प्रतिनिधि जोस भ्याडिलरले नसर्ने रोगको प्रमुख कारण नै सुर्तीजन्य पदार्थको प्रयोग भएकाले यसको प्रयोग दर घटाउन सुर्तीजन्य पदार्थमा कर बढाउनु पर्ने बताए । सुर्तीजन्य पदार्थमा करको वृद्धि गर्ने, प्याकेजिङमा नियमन गर्ने, नीतिगत विकास र कार्यन्ययनमा सुर्तीजन्य पदार्थ उद्योगको हस्तक्षेप रोक्ने, विद्यालय र विश्वविद्यालयहरुमा सुर्तीजन्य पदार्थको असरबारे पाठ्यक्रम समावेश गराउनेलगायतका विषय रणनीतिमा उल्लेख गरिएको छ । कार्यक्रममा सुर्तीजन्य पदार्थको असरबारे विद्यार्थीहरुले जनचेतनामुलक कार्यक्रमसमेत गरेका थिए ।

प्रतिक्रियाहरु