प्रतिक्रान्तिकारीहरुको एजेण्डा पश्चगामी हुन्छ – झपेन्द्रराज बैद्य

वार्ताको चाहना सबैमा हुन्छ । हुनु पनि पर्छ । तर केको लागि वार्ता भन्ने चीज महत्वपूर्ण हुन्छ । अहिले नेपाल सरकारले ने.क.पा. बिप्लव माओवादीसँग वार्ताको पासा फालेको छ । आफैँमा यो राम्रो कुरा हो । तर वार्ता रणभुल्ल र अन्योल छ । दक्षिणी ध्रुव र उत्तरी ध्रुवको मेल हुनसक्दैन । प्रतिगमन र अग्रगमनको टालटुले परिणाम यथास्थितिवाद हो । यसको अर्थ प्रतिगमनकारीले भन्नुपर्छ ‘हामी अग्रगमनमा जान्छौं । दलाल समाजवादी ब्यबस्था होइन । हामी बैज्ञानिक समाजवादमा रुपान्तरित हुन तयार छौं । भारतीय एकाधिकारको बिरोध गर्छौ । राष्ट्रियता, सच्चा लोकतन्त्र वा जनतन्त्रको बहाली गछौं । जनजीविकाको ग्यारेन्टी दिन्छौं । भ्रष्टाचार, तस्करी, कमिशन र लुटतन्त्रलाई ब्यबहारिकरुपमा निर्मूल पाछौं ।’ तर प्रतिगमनकारीले आफ्नो लूटको स्वर्ग छोडन चाहँदैन । ‘लौ त खाइपाइ आएको रसरंग छोड्छौं’ भनेर कसैले भन्दैन । आजसम्मको इतिहास हेर्दा खाइपाइ आएको कुरा खोसेर ल्याउनुपर्छ । राजतन्त्रलाई सत्ताच्यूत पार्ने कुरामा पनि बलप्रयोग गर्नु परेकै हो । बल प्रयोगले नै शान्ति वार्ताको परिस्थिति जन्मेको हो । तर पुरानै संसदीय सत्ता कायमराख्ने शर्तमा ठूलो बल प्रयोग गर्नु परेन । शीर्ष नेताले आत्मसमर्पण गरे । तर एउटा शक्ति अगाडि बढिरहेको अवस्था छ । अहिले अगाडि बढेको शक्ति र आत्मसमर्पणवादी बीच टग अफ वार चलेको छ ।
अहिले नेपालमा दलाल पुँजीवादी ब्यबस्था छ । जुन पुरानो संसद्वादी ब्यबस्था हो । यो असफल हुँदै आएको ब्यबस्था हो । यसले महिलालाई पुरुष र पुरुषलाई महिला गराउनुबाहेक सबै गर्छ । जनप्रतिनिधिको नाममा ठेकेदार, तस्कर र अपराधीहरुको आधिपत्य छ यस ब्यबस्थामा । इमानदारहरुको संख्या नगन्य हुन्छ । त्यसैले खसीको टाउको देखाएर कुकुरको मासु बिकाउने काम हुन्छ यसमा । असलीरुपमा यो ब्यबस्था बिदेशी शक्तिको इशारामा चलेको हुन्छ । यो प्रतिक्रान्तिकारीको सत्ता हो । यसैले यो बढी फासीवादी हुन्छ । कथित कम्युनिष्टले सोच्दछन् कि कम्युनिष्टहरु अधिनायकवादी हुनुपर्छ । दुईतिहाई मतमा दम्भ गर्ने र फसीवादी बन्ने उनीहरुको चाहना हुन्छ । बहुसंख्यक उत्पीडितहरुमाथि सामन्त दलाल र काम चोरहरुले डिक्टेटर चलाएका हुन्छन् अथवा फासीवाद । गरीबहरुको बारेमा बोलिदिने मिडियामा प्रहार गर्छ फसीवाद । एकलौटी सभ्रान्तहरुको राज हुन्छ । बिधि त हात्तीका देखाउने दाँत मात्र हुन्छ । ब्यबहारमा उनीहरुको शब्दमा स्वतन्त्र न्यायपालिका बन्दी बनाइएको हुन्छ । कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै बिप्लव माओवादीका प्रबक्ता क. प्रकाण्डलाई सर्बोच्च अदालतले रिहाइगरिसकेर पनि झूठा मुद्दा लगाउदै ७–८ जिल्ला हिँडाएको अवस्था छ । यो प्रतिशोध र पूर्वाग्रहबाहेक केही होइन । एक त सामन्तवाद, साम्राज्यवादबिरुद्ध लडेका पूर्व सहकर्मी अर्को जनताको खातिर समाज रुपान्तर गरेर बैज्ञानिक समाजवाद ल्याउन जीवनमरणको कसम खाएका प्रबक्ता प्रकाण्ड, पोलिटब्यूरा सदस्य उमा भूजेल, जीवन्त गंभीर ईत्यादि सयौं जना योद्धाप्रति अमानबीय ब्यबहार गर्नु अपराध नभएर अरु केही हुनसक्दैन । राजनैतिक नेता तथा एक पटक मन्त्री भैसकेका कमरेडहरुलाई हतकडी लगाएर हिँडाउनु मानबअधिकार बिरुद्धको काम हो । मौका यही हो यही बेला तमासा देखाउनुपर्छ भने जस्तै भएको छ । तर, कमरेडहरुको वजन अझ ठूलो भएको छ । कस्टडी भित्रको संघर्षमा कमरेडहरुले जितेका छन् । सरकारले लगाएको आरोप फिका साबित भएको छ । अदालतबाट सफाइ पाएका छन् कमरेडहरुले ।
अहिले वार्ताको कार्ड फालिएको छ । साथ साथै गिरफ्तार पनि गरिएका छन् कमरेडहरु । बिशुद्धरुपमा वार्ता गर्नु सकारात्मक कुरा हो । वार्ताको भ्रम हो वा वास्तबिक ? थाहा हुन सकेको छैन । सरकारबाट एजेण्डा आउन सकेको छैन । वार्ता भनेको लेनदेनको कुरा हो । यसमा सरकार कसरी प्रस्तुत हुन्छ हेर्न बाँकी छ । के सरकारले कालो संबिधानलाई सेतो बनाउनसक्छ ? निश्चयनै सिद्धान्तमा संझौता गरेर प्रतिगमनमा जाने कुरा हुँदैन । प्रतिगमनकारी माथि उक्लिनुपर्छ । बिकासवादी सिद्धान्तले यही कुरा देखाउँछ । सक्ने हो भने प्रचण्ड र बाबुराम पनि कम्युनिष्ट बन्नुपर्छ । तर असंभव नभए पनि धेरै उकालो छ । तर, कथित ने.क.पा.मा पनि राष्ट्रियता, जनतन्त्र र जनजीबिकाको सवालमा त्याग गर्न सक्ने ब्यक्तिहरु हुन सक्छन् । तिनीहरु पनि एउटै मोर्चामा ध्रुबीकृत हुनुपर्छ । देशभक्त र प्रजातन्त्र प्रेमीहरु सबै मिलेर नेपालको अतिक्रमित भूभाग फिर्ता ल्याउनुपर्छ । असमान सन्धीहरु खारेजगर्न सक्नुपर्छ । दलाल पुँजीवादबाट देशलाई मुक्त गरेमा नागरिक पनि मुक्त हुन सक्छन् । अहिले आत्मसमर्पणवादी प्रबृतिले गर्दा भारतीय बिस्तारवादले फाइदा उठाइरहेको अवस्था छ । यसैको परिणम भारतीय एयरमार्सलले चेक जाँचगर्छ एयरपोर्टमा । कालापानीको शिविरबाट भारतीय सेना गस्ती गर्छ । यसमा प्र.म. केपी वली मौन किन? राष्ट्रिय मुद्दा उठाउँदा जेल–नेल किन ? यी गम्भीर प्रश्नहरु छन् । निर्मला पन्त र यस्तै सयौं बलात्कार र हत्याका घटनाहरु ओझेलमा परेका छन् । ठूलाबडा भनिनेलाई जोगाउन खोज्दा अपराधीहरु कारबाहीमा पर्न सक्दैनन् । सुनमा ठूला माछा जोगिने, बलात्कारी, भ्रष्ट ठेकेदार, निगम आदिमा पनि ठूलै माछा जोगिदै आएका छन् । यो भ्रष्ट र निगमले चलाएको देश त होइन ? यस्तै आभास मिल्छ । पानी जहाज र रेलका सपना बाँडिएका छन् । सपना भनेको लक्ष्य हो । तर, राष्ट्रिय गौरवका योजनालाई एकातिर पन्छाएर सुदूरका कुरामा लाग्नु बेमौसमी कुरा हुन्छ । हिजो मात्र शहरी बिकास मन्त्रालयले बाहिरी चक्रपथ पहिलेकै डिजाइनमा बन्न नसक्ने कुरा उद््घोष गरी योजना अन्योलमा परेको अवस्था छ । किन सरकारले एकपटक निर्णयगरेका कुरा लागूगर्न सक्दैन? यातायात सिन्डिकेटको सवालमा पनि यस्तै भएको छ । सरकारले त भन्ने गर्छ पहिलेदेखिको डुंगूर एकै पटक हटाउन सकिँदैन । तर, झिकिदे गाँडभन्दा झन् थपिएको छ गाँड । बिहानीले दिनको संकेत गर्छ । सरकारले कामगर्न नसकेको सत्तासीनहरुले स्वीकारिसकेका छन् । देश त डुब्न लाग्यो बचाइदेउ माझी भनेर वरिष्ठनेता माधबकुमार नेपालले भनेका छन् । तर, कुनै हनुमानले भने एकपक्षीय ढंगले सत्ताकै गीत गाएर नूनको सोझो गर्छन् । धर्मनिरपेक्ष, समानुपातिक र समाबेशीका नारा मात्र छन् । ब्यबहारमा लागू छैन । हुनेखाने, एकाघरका श्रीमती र श्रीमान् समाबेशीमा जुरेका छन् । महिला अधिकार खोज्दा महिलाले महिलालाई नै बिरोध गरेका छन् । जबसम्म सामन्ति सँस्कार र दलाल पुँजीवादलाई भत्काउन सकिन्न उत्पीडित बर्गले अधिकार पाउनसक्दैनन् ।
प्रेस स्वतन्त्रता सेनानीको हैसियतले यस पंक्तिकारलाई भन्न करलाग्छ कि भारतले बनाएको नेपालको नक्शामा लिम्पीयाधुराको भूभाग छुटाइएको छ । यस अवस्थामा सरकार मौन नबसेर जे जस्तो भूभाग छ त्यही अनुसार नक्शाको करेक्सनगर्नुपर्छ । आज लिपुलेख छुट्छ भोली सुस्ता । यस्तै गरेर तराइ नै छुट्नसक्छ । यसैको लखपाएर सि.के राउतले बोल्ने दुस्साहस गरेको छ । सरकारले यस्ता कति कुरा सुन्यो तर एउटा कानले सुन्छ अर्को कानले उडाइ दिन्छ । तर जनतालाई अधिकार दिनुपर्छ भन्दा थुनछेक गर्छ । यो कस्तो बिडम्बना? जुनसुकै पार्टीको होस् अधिकार माग्दा झूठा मुद्दा लगाएर न्यायालय नै अपहरणगर्नु लोकतन्त्रको चरित्र हुनसक्दैन । यसैलाई फासिवाद भनिन्छ । अब बृहत मोर्चा बनाएर राष्ट्रियताको बचाउगर्ने बेला आएको छ । आज धूपौरे भएर होइन, बिजनेश र ठेक्कापट्टामा कमाउन पाइन्छ भनेर हनुमान चालिसा बनेर होइन, नूनको सोझो बनी सत्य छिपाएर दिउसै रात पार्ने होइन । आफ्नो आस्थाको पार्टीभन्दा माथि उठेर राष्ट्रियताजस्तो संबेदनशील कुरामा सबै एक जुटभएर लाग्नुपर्छ । भ्रष्ट नेताहरुको भरपर्ने हो भने देश नै डुब्ने छ । जनताले फीडब्याक दिनुपर्छ । बुलन्द आवाज दिनुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>