नुवाकोट दरबारको पुनःनिर्माण असोजदेखि

२०७५ असार ५ गते, मंगलवार

काठमाडौं, ५ असार । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पृथ्वीनारायण शाहले निर्माण गरेको ऐतिहासिक साततले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण हुने भएको छ । दरबारको पुनःनिर्माणका लागि चासो देखाएको चीनले आगामी असोज महिनादेखि निर्माणकार्य थाल्ने भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले जानकारी दिए । नेपाल एकीकरणको आधारस्तम्भकारुपमा रहेको साततले दरबार भूकम्पका कारण क्षतिग्रस्त बनेपछि हाल टेको लगाएर राखिएको छ भने दरबारअगाडिका नारायण र विष्णु मन्दिर पूर्णरुपमा क्षतिग्रस्त छन् । प्रमुख फुयाँलकाअनुसार दरबार परिसरमा नै रहेको भैरवी मन्दिरको ठेक्का सम्झौता भइ निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । भैरवी मन्दिरअगाडिको लामपाटी, सेतोपाटी, दरबार परिसरमा नै रहेको गारद घर, रंगमहलका साथै दरबारको नजिकै रहेको तलेजु भवानीको मन्दिर पनि चीन सरकारले नै निर्माण गरिदिने फुयाँलले बताए ।
‘अघिल्लो वर्ष भदौमा १५/१६ जना चिनियाँ प्राविधिकले २० दिन लगाएर क्षतिग्रस्त दरबारको सर्वेक्षण गरेका थिए’–उनले भने–‘अघिल्लो मंगलबारमात्रै चिनियाँ राजदूत यु होङले यस क्षेत्रको पुनः अवलोकन गर्नुभएको थियो, यो अवलोकनले पुनःनिर्माणका लागि काम अघि बढायो ।’ राजदूतले पृथ्वीनारायण शाहले निर्माण गरेको साततले दरबार, मल्लकालीन रंगमहल, गारद भवन, नारायण मन्दिर, लिच्छविकालीन तलेजु भवानी राखिएको दरबार, नुवाकोट भैरवी मन्दिरछेउका सेतोपाटी र लामपाटीलगायतका स्थानको अवलोकन गरेको उनले जानकारी दिए ।
पृथ्वीनारायण शाहले वि.सं. १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोटमा नै बिताएका थिए । इतिहास खोतल्दा उनले नुवाकोटमा विजय हासिल गरेपछि मल्लकालीन दरबार एवं मन्दिर कायमै राखी त्यहीँबाट सामाजिक तथा आर्थिक क्रियाकलाप अघि बढाएको पाइन्छ । किंवदन्तीअनुसार पृथ्वीनारायण शाहले ललितपुरका कालीगढ झिकाइ सुरुमा ९ तले दरबार बनाउन लगाएपनि १९९० सालको महाभूकम्पले दुई तला भत्किएर ७ तलेमात्र हुन पुगेको हो । मल्लकालीन समयमा मल्ल राजाहरूले पाँच तला र सर्वसाधारण जनताले तीन तलासम्मको घर बनाउने स्थिति बाँधे पनि उपत्यकाका मल्ल राजाहरूको घमन्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको ९ तले दरबार बनाउन लगाएको पाइन्छ ।
सात तला रहेको दरबारको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्नसकिने व्यवस्था मिलाइएको र त्यहाँस्थित युद्घबन्दीलाई थुन्ने खोर, दरबारको सुरक्षाका लागि भुइँतलामा आँखीझ्याल आदिको निर्माणले यसलाई वास्तुकलाको विशिष्ट नमुना मान्ने गरिएको छ । मल्लकालीन धार्मिक तथा सांस्कृतिक सम्पदाकारूपमा रहेको यस ऐतिहासिकस्थललाई भूकम्पले ठूलो क्षति गराएको स्थानीय ज्येष्ठ नागरिक नारायण डंगोलले बताए । उनकाअनुसार दरबार र आसपासका संरचना भूकम्पका कारण क्षतिग्रस्त भएपनि स्वदेशी एवं विदेशी पर्यटक नुवाकोट दरबारको अवलोकन गर्न आउने गरेका छन् ।
नुवाकोट दरबारका साथै यहाँस्थित तलेजु भवानी, भैरवी मन्दिर धार्मिक आस्था एवं विश्वासका महत्वपूर्णस्थल हुन् । नुवाकोट र आसपासका स्थानबाट भैरवी मन्दिरको दर्शनका लागि दर्शनार्थी आउने गरेको मन्दिरको हेरचाह गर्दै आउकी ६० वर्षीया ज्ञानी डंगोलले बताइन् । ‘मन्दिरमा दर्शनका साथै दरबार हेर्न दैनिक धेरै मानिस आउने गरेका छन् । मंगलबार र शनिबार त भीडभाड नै लाग्ने गरेको छ’–उनले भनिन्–‘भूकम्पले क्षतिग्रस्त भैरवी मन्दिरको पुनःनिर्माण लगभग सकिएपनि दरबार र आसपासका मठ–मन्दिर बन्न सकेका छैनन्, चाँडो बनिदिए हुन्थ्यो ।’ चिनियाँ सरकारले दरबारसहितका संरचना पुनःनिर्माण गर्ने चासो र तयारी गरेसँगै स्थानीयवासीमा नुवाकोट दरबारले पुनः पूर्ववत्स्वरुप प्राप्त गर्ने विश्वास पलाएको छ । – वासुदेव पौडेल (रासस)

प्रतिक्रियाहरु